दल

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छः बर्तौला

इकागज |
चैत १४, २०७९ मंगलबार १३:१३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत् सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन् । सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसद्ले विश्वास गर्नुपर्ने बताए । 

उनले प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले संशोधन प्रश्ताव दर्ता गराउनु उनीहरूको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा उनले जोड दिए । सभामुख सभाको रेफ्री भएको भन्दै रेफ्रीले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने उनको भनाइ छ । 


उनले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसद्को प्रभावकारीतामा गतिरोध उत्पन्न हुने बताए । त्यसो भए् संसदीय मूल्य, मान्यता र गरिमा नरहने उनको भनाइ छ । 

‘माननीयहरूले राखेको विषय उहाँहरूको सार्वभौम अधिकारको कुरा हो । सभामुख भनेको लिडर अफ द हाउस । हेड अफ द इन्स्टिच्युसन हो,' उनले भने, 'सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ । किनभने उहाँ रेफ्रीको भूमिकामा हुनुहुन्छ । रेफ्रीले कतिबेर सिठी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रीको पर्फमेन्स के हुन्छ ? सिंगो खेलको अवस्था के रहन्छ ? '

सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने उनले बताए । कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडि बढ्दा संसद् गतिहीन हुनसक्ने र अवरोधहरूको जञ्जालमा पर्नसक्ने उनले बताए । ’
उनले संसद्‍मा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निस्कर्ष राजनीतिक दलहरूको रहेको पनि उल्लेख गरे । 


Author

थप समाचार
x