दल

निजामती सेवाको नाम फेरौं : नेता निधी

इकागज |
चैत १७, २०७९ शुक्रबार १७:२६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले निजामती सेवाको नाम फेर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधीले निजामती सेवाको नाम फेर्नुपर्ने बताएका हुन् । उनले आफू सामान्य प्रशासनमन्त्री भएको बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएको उल्लेख गरे । 

उनले लोकसेवा आयोगले कर्मचारीहरुको भर्ति गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने बताए । उनले निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ हुने बताए । उनले राजाको सेवामा खटिनेहरुलाई ‘निजाम्ती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएको उनले उल्लेख गरे । नेता निधीले निजामती शब्द समय सान्दर्भिक नभएको भन्दै समय सान्दर्भिक नाम खोज्नुपर्ने बताए । 


उनले भने,  ‘हामीले निजामती सेवाको नाम र संरचनामा पदनामहरु जुन छ नि, अहिले कमसेकम सचिव, अतिरिक्त सचिव, विशेष सचिव, उपसचिव, सहसचिव, शाखा अधिकृतसम्म त ठिकै छ । मलाई मनमा लागेको थियो मैले मन्त्रालयमा कार्यभार सम्हाल्दा ऐन बनाउने बेलामा दुईवटा कुराको चर्चा गरेको थिएँ । यो निजामती शब्द किन राख्ने ? म त देशको प्रशासन प्रणालीबाट, कानुनबाट निजामती शब्द नै हटाउन चाहान्थे म । लोकसेवा आयोग छ, त्यसको नाम निजामति सेवा आयोग किन छैन ? मेरो प्रश्न छ । निजामती सेवा आयोग प्रदेश स्तरको किन भन्दैनौँ हामी ? किन लोक सेवा आयोग भन्छौँ ? यदी लोकसेवा आयोग पनि कर्मचारीहरुकै लागि हो भने, राष्ट्रसेवक कर्मचारीहरुकै लागि हो भने निजामती सेवाको ठाउँमा लोकसेवा कर्मचारी किन नभन्ने ? सार्वजनिक सेवा किन नभन्ने ? निजामती उर्दुबाट आएको हो । फारसीबाट आएको हो । अरबबाट आएको हो । निजाम भनेको पहिले पहिलेको जमानामा राजालाई भनिन्थ्यो । निजाम भनेको शासक । हैदराबादमा तपाई जानुस् त्यहाँ निजामको शासन थियो मुसलमानको मुस्लिम शासनको बेलामा । राजाको लागि खटिने कर्मचारीहरु जुन थियो कारिन्दाहरु क्रमशः विकसित हुँदै त्यो निजामती सेवा भयो । निजामती होइन, ‘निजाम्ती’ उच्चारण त्यो हो त्यसको । मैले सामान्य प्रशासन मन्त्री हुँदा चेन्ज गरौँ भने । मैले भने प्रशासनविद्हरुलाई आफ्नो नाम चेन्ज गर्नुस् । मर्यादित नाम खोजौँ । मैले भनेकै हुनुपर्छ भन्ने छैन । सरकारी सेवा भन्नुस् । सार्वजनिक सेवा भन्नुस् । त्यो भन्नुभयो भने संघीय तहको, प्रदेश तहको, स्थानीय तहको सेवा भन्न सजिलो हुन्छ । नभए निजामती सेवा भन्ने शब्द राख्ने कि स्थानीय तह राख्ने भन्नेमा झगडा भइरहन्छ । असली बुँदा पछि पर्छ ।’

नेता निधीले राजनीतिज्ञ र कर्मचारीहरुको सहकार्य सफल भएमा देश र जनताले प्रगति गर्ने बताए । उनले राजनीतिक स्थिरताका लागि पनि स्थानीय तहको भुमिका महत्वपूर्ण हुने बताए । उनले भने, – ‘राजनीतिज्ञ र कर्मचारीहरुको सम्बन्ध अन्योन्याश्रित हुन्छ । र दुईवटैको सहकार्य सफल रुपमा अगाडी बढ्यो भने त्यसले जनता र देशको प्रगति गर्दछ । राजनीतिक स्थिरता पनि प्रदान गर्दछ । राजनीतिक स्थिरताका लागि आवधिक निर्वाचन हुनु र संसद आउनु, सरकार बन्नुले मात्रै पर्याप्त हुँदैन । राजनीतिक स्थिरताका लागि पनि र जनताका मुहार फेर्नको लागि पनि स्थानीय तहको भुमिका अत्यन्त महत्वपूर्ण छ । योगदान अत्यन्त महत्वपूर्ण छ ।नीति निर्माण केन्द्रबाट जति बनेतापनि त्यो जनताको घरदैलोमा गाउँमा पुगेन भने कार्यान्वयन हुँदैन र त्यो कार्यान्वयन स्थानीय तहबाट गर्न सकिन्छ । त्यसैले स्थानीय तहको कर्मचारीको भुमिका महत्वपूर्ण छ ।’

नेता निधीले स्थानीय तहका कर्मचारीहरु र निजामती सेवाबाट आएका कर्मचारीहरुबीचमा द्वन्द्व देखिएको गुनासो आएको भन्दै द्वन्द्वको निराकरण गर्नका लागि राजनीतिक तह प्रतिवद्ध रहेको बताए । 


Author

थप समाचार
x