दल

तनहुँ–१ उपनिर्वाचन : ठूला दलले टुंग्याए उम्मेदवार

इकागज |
चैत १९, २०७९ आइतवार १५:२३ बजे

दमौली- आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् । 

नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापाको उपस्थिति रहने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।


उम्मेदवार भट्टराई शनिबार नै गृहजिल्ला आएर कार्यकर्ता भेटघाटमा लागिसकेका छन् । उनले शनिबार आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका–११, आज व्यास–१ र २ मा कार्यकर्ता भेटघाट गरिसकेका छन् ।

नेकपा एमालेका तर्फबाट पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले उम्मेदवारी दिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थविद् डा स्वर्णिम वाग्लेले उम्मेदवारी दिनेछन् । उम्मेदवार वाग्ले आज तनहुँ आइपुगेको सो पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने तय भएको सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए । अन्य साना राजनीतिक दल पनि उम्मेदवार छनोटको अन्तिम तयारीमा पुगेका छन् । सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । निर्वाचन कार्यतालिका अनुसार तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । 

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सकिने बताए । जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार लगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहित रूपमा सम्पन्न गर्न सहयोग आवश्यक रहेको उनले बताए । 

क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको तयारी सुरु भइसकेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको ढकालले बताए ।

उक्त क्षेत्रअन्तर्गतका ४२ वडामा ६९ मतदान स्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ । 

मङ्सिर ४ गतेसम्म सो क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए ।


Author

थप समाचार
x