दल

एमाले मुलुकमा अरु पार्टीभन्दा बलियो, व्यापक र अग्लो छ : अध्यक्ष ओली

इकागज |
चैत २५, २०७९ शनिबार १५:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिका रूपमा रहेको दाबी गरेका छन् ।

पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौँमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा दाबी गरेका हुन् । अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताए । उनले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरू लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद पनि दिए ।


पार्टीमा आबद्ध महिलाहरूको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिका रूपमा रहन सकेको ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहोर्‍याए । त्यस अवसरमा उनले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए ।

एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए । उनले पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट पारे।

ओलीले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताए ।


Author

थप समाचार
x