दल

महिला दिदीबहिनीको निष्ठाले पार्टी बलियो भएर उठ्याे : एमाले अध्यक्ष ओली

इकागज |
चैत २५, २०७९ शनिबार १९:२३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गरे ।

उनले महिला दिदीबहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएकोसमेत उल्लेख गरे ।


'महिलाहरू हरेक तरबार हो । एमालेका विरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन्,' उनले भने, 'महिला दिदीबहिनीको योगदान गर्दा पार्टी सुरक्षित भएर जोगिएर फेरि देशको प्रमुख पार्टीको हैसियतमा उभिएको छ ।'

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई महिला दिदी–बहिनीले प्रभावकारी, अनुशासित र गतिशील रूपमा अगाडि बढाएको समेत बताए । उनले महिला अगाडि उभिएकाले एमालेलाई कसैले पनि हल्लाउन नसक्ने भनाइ राखे ।

'एमाले कसैले किन हल्लाउन सक्दैन, दुर्गाकाली नवदुर्गा भएर हाम्रा महिला दिदीबहिनी अगाडि उभिनुभएको छ,' उनले भने । अस्तव्यस्त पार्न थालिएको एमालेको सङ्गठनलाई बलियो र खँदिलो बनाएर अगाडि बढाइएको भन्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोडिँदै जानुपर्ने भनाइ राखे ।

नेपालको महिला आन्दोलन जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सफलतापूर्वक अगाडि बढेको उनको धारणा रहेको थियो ।


Author

थप समाचार
x