दल

यो गठबन्धन सरकार पाँच वर्षसम्म टिक्छ : खाण

सुभाष कर्ण |
चैत २५, २०७९ शनिबार २१:२८ बजे

जनकपुरधाम- पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले यो गठबन्धन सरकारलाई पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् ।

शनिबार महोत्तरीको जलेश्वरमा पार्टीको जिल्ला शाखाले पार्टी सुदृढीकरण र संगठन विस्तारका लागि निकालेको १५ दिने पद यात्राको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे दाबी गरे ।


खाणले गठबन्धनको सरकार आलोपालो गरी चलाउने आपसी सम्झदारी भएकाले असन्तुष्टिको कुनै पनि ठाउँ नरहेकाे पनि उल्लेख गरे । 'आलोपालोको सरकार मात्रै होइन संघ र प्रदेश सरकारमा समेत गठबन्धन आबद्ध सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने आपसी सम्झदारी रहेकाले गठबन्धन दलहरूबीच कुनै संसय र असन्तुष्टि नहुने विश्वास छ,' उनले भने ।

नेता खाणले महोत्तरी शाखाले निकालेको पदयात्रा निकै सराहनीय भएकाले सो अनुरूप गाउँगाउँमा संगठन विस्तार गर्न नेता/कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

कांग्रेसको नेतृत्वबिनाको नेपालको कल्पना गर्दा जहिले पनि समस्या उत्पन्न हुने गरेको भन्दै देशको निकास कांग्रेसकै हातमा रहेको उनले बताए । खाणले महोत्तरी शाखा जस्तै अन्य जिल्ला कार्यसमितिहरूले पनि संगठन विस्तार र सुदृढीकरण गर्न पदयात्रा वा यस्तै खाले कार्यक्रम अघि बढाउन सुझाव समेत दिए । यो अभियान जारी रहेको खण्डमा अघिल्लो निर्वाचनबाट नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने उनकाे दाबी छ ।

कार्यक्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले देउवा नेतृत्वको सरकारले सफल र शान्त रूपमा निर्वाचन गराएर दिँदा समेत वामपन्थीहरूले सरकार चलाउन नसकेपछि पुनः देशलाई निकास सभापति देउवाले नै दिएको बताए । कार्यक्रममा पार्टीका मधेश प्रदेश अध्यक्ष कृष्ण यादवले मधेशको विकास पनि कांग्रेस नेतृत्वबिना असफल रहेको कुरा पछिल्लो पटक सिद्ध भइसकेकाले आउँदो सरकारको नेतृत्व कांग्रेसलाई दिएमा विकासको गति अघि बढ्ने उल्लेख गरे ।

महोत्तरीका जिल्ला सभापति नागेश्वर यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कांग्रेसका प्रदेश सभा सदस्य शेषनारायण यादव लगायतका प्रदेश सांसदहरू, मेयर र उपमेयरमा निर्वाचित जनप्रतिनिधीहरू, केन्द्रीय, प्रदेश र जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x