दल

ह्वीप अस्वीकार गरेका एमाले सांसद् के गर्दै छन् ?

इकागज |
बैशाख २८, २०७८ मगलवार १८:८ बजे

काठमाडौँ : एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर सांसद्‍हरू र स्थायी कमिटी सदस्यहरू दललाई कसरी एक ढिक्का बनाएर अघि बढाउन सकिन्छ भन्ने निस्कर्ष खोज्ने उद्देश्यले छलफलमा जुटेका छन् । उनीहरूले केपी शर्मा ओलीको 'दम्भ' कम गर्न र नचाहिँदा ढर्रा असफल पार्न सफल भएको निस्कर्ष पनि निकालेका छन्  । ओलीको विकल्प सरकारमा होइन पार्टीमा खोज्‍नपर्ने भन्दै त्यसमा छलफल जारी राखेका छन् । 

सरकारमा  विकल्प खोज्‍ने कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको हो भन्दै उनीहरू दलभित्रको रणनीतिमा लागेका हुन् । ओलीले पार्टीलाई सकेको भन्दै उनीहरू छलफलमा जुटेका हुन् । मंगलबार केहीबेर भर्चुअल छलफल गर्दै अबको चुनौतीबारे विमर्श गरेका हुन् । 


नेपाल पक्षका २८ जना सांसदहरूले हिजो संसद बैठकमा भाग नलिएर पार्टीको ह्विप उल्लंघन गरेपछि ओलीले कस्तो कारबाही गर्ने हो र त्यसको सामना कसरी गर्ने भन्‍ने रणनीतिमा उनीहरू लागेका हुन् । 

माधव नेपालनिकट सांसद सोमप्रसाद पाण्डेले आफूहरूबीच 'भर्चुअल' छलफलहरू भइरहेको बताए । छलफलमा खनाल-नेपाल पक्षका २८ सांसद् र  स्थायी कमिटीका सबै सदस्यहरू रहेको पनि उनले स्पष्ट पारे । अब कसरी अघि बढ्ने भन्ने विषयमा नै छलफल जारी रहेको उनले स्पष्ट पारे । नेपालले त्यसबारेमा आफ्नो जानकारी समेत राखेका थिए । 

अर्का एमाले सांसद घनश्याम भुषालले पनि छलफलहरु भइरहेको तर हाम्रो राजीनामाले सरकार बनाउने र नबनाउने विषयमा अर्थ राख्दैन तर हामीले ह्वीप अस्वीकार गरेको कारणले केही समस्या ओलीपक्षबाट हुनसक्ने उनले बताए । त्यो विषयमा छलफल भएको बताउँदै भने, 'जुम छलफल त भइरहेका छन् । त्यो भन्दा पनि मुख्य कुरा ओलीको असहमतिबारे छलफल भएको हाे । हामीले मन लागेर गरेका पनि होइनौँ । दल एक ढिक्का पार्न र बचाउन त्यो आवश्यक पनि थियो ।' 

एक सांसदले दिएको जानकारीअनुसार कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको गठबन्धनलाई सरकार बनाउन सजिलो हुनेगरी २० जना सांसदले राजीनामा दिनुपर्ने सुझाव आए पनि त्यसले कुनै अर्थ नराख्‍ने जवाफ एमालेले दिएको छ । यद्यपि नेपाल पक्ष यसरी राजीनामा जान नसक्ने अर्का सांसद्ले बताए । बीचधारमा रहेका योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण विष्टले भने त्यसप्रकारको निर्णयमा जान नहुनेमा लविङ गरिरहेका छन् ।

हिजो पनि राजीनामा दिने अन्तिम तयारीमा पुगेकै बेला उनीहरूको सक्रियताले रोकिएको थियो । उनीहरू पार्टी मिलाएर जाने पक्षमा छन् । ओलीको तर्फबाट नेता विष्णु पौडेल यी नेताहरूसँग निकट सम्बद्ध राखेर छलफल जारी राखेका हुन् । 

यी नेताहरू सोमबार संसद् बैठकमा सहभागी भए पनि पार्टीको ह्वीपलाई मानेका थिएनन् । संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरिसकेकी छन् । नयाँ सरकार गठन गर्न जसपाको मत निर्णायक रहन्छ । त्यसमा पनि खासगरी महन्थ ठाकुर पक्षको मत निर्णायक हुनेछ ।


Author

थप समाचार
x