दल

एमाले सचिवालय बैठक : फरार रायमाझीलाई गरेन कारबाही, अरु के भयो ?

इकागज |
बैशाख २६, २०८० मगलवार १८:४७ बजे

फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ । मंगलबार दिउँसो दुई बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको २१ औँ सचिवालय बैठकले यही वैशाख २८ देखि ३० गतेसम्म चल्ने केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गरेको छ । 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत, केन्द्रीय कमिटीको चौथौं बैठकपछिको निर्णय अनुमोदन, आयोगका प्रमुखहरूको सम्बोधन, ‘मिसन ग्रासरुट’को समीक्षापछि छलफलमा जाने जानकारी दिए ।


बैठकले नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेन । एमाले विधिको शासन मान्ने पार्टी भएकाले रायमाझीमाथि भइरहेको अनुसन्धानमा पार्टीले सघाउने उनले बताए । ‘एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । कानुनको परिपालना गनुपर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाहरू हामी गर्छौँ । कामरेड टोपबहादुर रायमाझीको अनुसन्धानको सन्दर्भमा बाहिर आएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘एमाले विधिको शासन मान्ने पार्टी भएकाले कानुनपूर्वक अनुसन्धान प्रक्रियामा सघाउ पुर्याउने हाम्रो निर्णय हो ।’

उनले यस विषयमा लामो छलफल र निर्णय गरिराख्नुपर्ने विषय नरहेको पनि उल्लेख गरे ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा एमाले सचिव रायमाझी पनि मुछिएका थिए । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारीपछि उनी फरार रहेका छन् । 

त्यस्तै, गुरुङले नेता भीम रावलको विषयमा पनि प्रतिक्रिया जनाए । रावलसँग कार्यदलले वार्ता गरिरहेको उनकाे भनाइ छ । कार्यदलले प्रतिवेदन पेश गरेपछि रावलबारे आवश्यक निर्णय हुने उनले बताए ।

‘रावलको विषयमा अहिलेको बैठकको एजेन्डा छैन । कार्यदलले अहिलेसम्म प्रतिवेदन पेश गरेको छैन । कार्यदलले वार्ता गरेर के गर्ने भन्ने प्रस्ताव पेश गर्छ । त्यो काम भएको छैन,’ गुरुङले भने ।


Author

थप समाचार
x