दल

राप्रपाको केन्द्रीय समिति बैठक सुरु, केन्द्रीय सदस्यहरूले धारणा राख्दै

इकागज |
जेठ २, २०८० मगलवार १०:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।​ सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु भएको हो ।

‘अध्यक्षज्यूले पेस गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भने । उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सोमबार प्रस्तुत गरेका प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् ।


अध्यक्ष लिङ्देनले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार विदेशी इसारामा चल्न थालेपछि सरकार छाड्नु परेको साेमबार जनाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा समेत विदेशी संलग्नता रहनुलाई राष्ट्रिय लज्जाको विषय भएको निष्कर्ष उनको थियो ।

प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा पुगेको जनाउँदै उनले सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहेपछि आफूहरूले सरकार छाड्नु पर्ने जानकारी केन्द्रीय समितिमा गराएका छन् ।

उनले वैदेशिक हस्तक्षेप र दलीय भ्रष्टाचारको विरुद्धमा निर्मम भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् । मुख्य दलका अराजनीतिक गतिविधि र भ्रष्ट प्रवृत्तिका कारण संवैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिङ्देनले जनाएका छन् ।

अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि मंगलबार दिनभरी छलफल हुने प्रवक्ता लावतीले जानकारी दिए ।  


Author

थप समाचार
x