दल

प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

इकागज |
जेठ १५, २०८० सोमबार १०:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् । सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए ।

सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताए । उनले काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरुको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने बताए । उनले  काठमाडौँको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए । सांसद पौडेलले नर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताए । उनले केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बद्नाम नगर्न चेतावनी दिए ।


‘नेपालभर सार्वजनिक जग्गा कहाँ कहाँ छ, पहिला सरकारले पहिल्याउनुपर्छ । कहाँ छ र कसरी संरक्षण गर्ने भन्नेबारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्छ । स्थानीय सरकारसँगको समन्वयमा छ । मैले यसको पैरवी गर्ने र लागिपर्ने प्रतिवद्धता व्यक्त गर्छु । काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा कहाँ छ खोज्छौँ, र त्यहाँ वृक्षारोपण गर्ने प्रतिवद्धता व्यक्त गर्छौं । वृक्षरोपण गरेर सार्वजनिक जग्गा जोगाउनेछौँ । काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नेछौँ । र नागरिकको हीतको लागि प्रयोग गर्नेछौँ । यो जग्गाको सन्दर्भ जहाँसम्म छ, निर्मल लामा सम्मानित व्यक्ति हुनुहुन्छ' उनले भने 'उहाँलाई सम्मान गर्न उहाँको नाममा प्रतिष्ठान बनाएर व्यापारिक केन्द्र बनाउन दिन सकिँदैन । केही मानिसको स्वार्थ पूरा गर्न उहाँको सम्मानित नाम बद्नाम गर्न पाइँदैन । राज्यले लगानी गरी पार्क बनाइ यसको नाम निर्मला लामा पार्क राख्छ भने आपत्ति भएन । तर यहाँ प्रतिष्ठान बनाएर सटर बनाइ केही मानिसले लाभ लिने र ४० वर्षसम्म लिजमा दिने कुरा किमार्थ स्वीकार हुँदैन । गणतन्त्र दिवसको दिन वृक्षारोपण गरेर हामीले यसको रक्षा गरेका छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ, यो हाम्रो हीतको लागि प्रयोग गरियोस्, यहाँका नागरिकको हीतको लागि प्रयोग गरियोस्, नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि प्रयोग गरियो भने हामी बाधक भएर आउनेछौँ । स्वार्थ पूरा हुन दिँदैनौँ ।’

सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हीतका लागि प्रयो गर्नुपर्ने बताए । उनले सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा लिजमा दिए आफू बिरोधमा उत्रिने पनि बताए । सांसद पौडेलले वृक्षारोपण गरेको जग्गा आफ्नै पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री (अघिल्लो सरकार) भएको समयमा मन्त्रिपरिषदको बैठकले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो । 


Author

थप समाचार
x