दल

प्रेम सुवालले मागे प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा

इकागज |
जेठ २१, २०८० आइतबार १६:४७ बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले यस विषयमा देशघात भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गरे ।


‘नागरिकता विधेयकमा प्रमाणीकरण भयो त्यो संविधान अनुसार, संसदीय व्यवस्था अनुसार मिल्दैन । संविधानको धारा ११३ मा सभामुखले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस गर्ने भनेर स्पष्ट लेखेको छ । त्यसकारण नागरिकता विधेयक संसदलाई छलेर प्रधानमन्त्रीले सिफारिस गरे अनुसार राष्ट्रपतिबाट भएको प्रमाणीकरण एक किसिमको जालसाझी हो,' उनले भने, 'जालसाझी राष्ट्रपति र प्रधानमन्त्रीले गर्नु हुँदैन । नेपालका राष्ट्रपति र प्रधानमन्त्री भारतीय एकाधिकार पुँजीको र भारतीय विस्तारवादको गोटी चालमा फसेको पुष्टि भयो । दुवैले राजीनामा गर्नुपर्छ । संसदमा अविश्वास र महाअभियोगको प्रस्ताव ल्याउनुपर्छ । देशघात भएको छ ।’​


Author

थप समाचार
x