दल

'प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेर आउनुभयाे'

इकागज |
जेठ २१, २०८० आइतबार १६:५५ बजे

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताएका छन् ।

​आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरेको बताए । उनले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने जिकिर गरे । उनले नागरिकता विधेयकलाई असंवैधानिक रूपमा राष्ट्रघात हुने गरी प्रमाणीकरण गरिएको उल्लेख गरे ।


उनले भने,  ‘असंवैधानिक हिसाबले प्लेन चढ्नुभन्दा अगाडि नागरिकता विधेयक असंवैधानिक हिसाबबाट यो देशलाई राष्ट्रघात हुनेगरी उहाँले राष्ट्रपतिलाई प्रमाणीकरण गर्न उक्साएर, प्रमाणीकरण गरेर कोसेली लिएर जानुभयो । एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिने गरी आएको छु महामहिम भन्न पुग्नुभयो । त्यसलाई उहाँले उपलब्धि ठान्नुभयो ।'

उनले अगाडि भने, 'यो देशका सीमाका विषयमा, लिपुलेक र कालापानीको विषय सत्ता भर्ने, कता कताको जमिन लिने यो देशको प्रधानमन्त्रीलाई यो मुलुकको जमिनका बारेमा यस प्रकारले बोल्ने अधिकार कसले दियो ? उहाँलाई त्यो अधिकार छ दिल्लीमा गएर, दिल्लीका शासकहरूका सामु लम्पसार परेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी बंगलादेशको सीमाको बाटो लिनेगरी सट्टाफेरी गर्ने । यस प्रकारको अपारदर्शी उहाँले कयौँ गतिविधि गरेर आउनुभएको छ । हामीले संसदमार्फत सिंगो देशलाई उहाँले भन्नुपर्छ । अपारदर्शी काम गर्ने ? यो देशको सार्वभौमता, यो देशको अखण्डता, नेपालको जमिनमाथि धावा बोलेर आउनुभएको छ । उहाँले देशमाथि गद्दारी गर्नुभएको छ । राष्ट्रघात गर्नुभएको छ । यसको जवाफ दिएर मात्रै पुग्दैन । माफी माग्नुपर्छ ।’


Author

थप समाचार
x