दल

नागरिकता विधेयक पारित गर्नेहरु 'लेन्डुप'का नयाँ अवतारहरु हुन् : प्रजापति

इकागज |
जेठ २१, २०८० आइतबार २०:२९ बजे

फाइल फोटो

काठमाडौं - नेपाल मजदुर किसान पार्टीको आयोजनामा नागरिकता विधेयक प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर बनाइएको भारतीय नक्साको विरोधमा आइतबार राजधानीमा जुलुस र सभा भएको छ ।  

विरोध जुलुस तथा सभामा सहभागीहरुले ‘नेपाली लेन्डुपहरू मुर्दावाद, देशभक्त नेपाली एक होऔं, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गरलगायतका नारा लगाएका थिए ।


सभामा पार्टी केन्द्रीय सदस्य सुनिल प्रजापतिले नागरिकता जस्तो संवेदनशील विषयलाई जथाभाबी वितरण गर्नु भनेको नेपाललाई फिजीकरणको बाटोमा अगाडि बढाउनु भएको बताए ।

नागरिकता विधेयक पारित गर्ने शासक दलहरुलाई लेन्डुप दोर्जेका नयाँ अवतार भएको उनको कथन थियो ।​

प्रमाणीकरण गरेको नागरिकता विधेयकमा अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने, नेपाली पुरुषसित विवाह गरेका महिलालाई तत्काल नेपाली नागरिकता दिने र गैरआवासीय नागरिक (एनआरएन) लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्रदान गर्नेलगायत ३ वटा बुँदा आपत्तिजनक र गम्भीर प्रकृतिको भएको उनले बताए । यस्तो असंवैधानिक कदमको विरुद्ध देशभक्त जनताहरू एक हुनुपर्ने आवश्यकता उनले औंल्याए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उकेश कवां, पार्टी काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, पार्टी ललितपुर जिल्ला समितिका अध्यक्ष राजबीर डंगोल, पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, पार्टी निकटको नपोल क्रान्तिकारी महिला संघ केन्द्रीय समिति सदस्य ममिता महर्जनलगायतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित गर्न अस्वीकार भएको विधेयक प्रमाणीकरण गर्नु आफैंमा वर्तमान राष्ट्रपति पौडेलको असंवैधानिक कदम भएको बताए ।

सभा अघि माइतीघर र कोटेश्वर दुई ठाउँंबाट जुलुस सुरु भएको थियो । दुवै ठाउँंको जुलुस नयाँ बानेश्वरमा पुगी सभामा परिणत भएको थियो । 


Author

थप समाचार
x