डेंगी नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ : कांग्रेस
काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसले डेंगी रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अहिले कांग्रेसकै नेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्बद्ध संघसंस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ ।
साथै, रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यलाई आह्वान पनि गरिएको छ ।
'डेंगी रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोसी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौँको ज्यान गइसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौँको संख्यामा नागरिक सिकिस्त बिरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन,' विज्ञप्तिमा लेखिएको छ, 'समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँछ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया