सुन तस्करी प्रकरणमा छानबिन गर्न ढिलाइ हुनु सरकार संलग्न हुनुको पुष्टि : एमाले
काठमाडौँ- नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । उनले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बन्नु अनिवार्य रहेको भन्दै अनुसन्धान ढिलाइ गर्नुले प्रमाणहरू नष्ट हुँदै जाने बताए ।
ज्ञवालीले उच्चस्तरीय छानबिन न्यायिक समिति बनाइ जरैसम्म अनुसन्धान नभए अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो हुनुका साथै नेपालको भूराजनीतिमा समेत असर पर्ने जिकिर गरे । उनले सरकारले छानबिनमा आलटाल गरेको र प्रतिपक्षको आवाज दबाउन खोजेको बताए । उनले संलग्न मन्त्रीहरूले राजीनामा दिनुपर्छ भन्दा तर्साउनका लागि सांसदलाई थुन्ने काम सरकारबाट भएको बताए ।
उपमहासचिव ज्ञवालीले सीआईबीले नाम किटान गरेकालाई समेत छानबिनको दायरामा नल्याउने र सरकारी वकीलले उनीहरूको नाम हटाएर मुद्दा दायर गर्नुले छानबिनमा दबाब र प्रभाव छ भन्ने प्रमाणित भएको उल्लेख गरे ।
यस्तै एमालेले कञ्चनपुरमा भएको युवा संघको झडपको विषयमा छानबिन गर्नका लागि ३ सदस्यीय टोलीसमेत गठन गरेको छ । टोलीमा उपाध्यक्ष युवराज ज्ञवाली‚ स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो ज्वालाकुमारी साह रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया