दल

बैंकहरू मिटरब्याजी जस्तो हुनु हुँदैन : अध्यक्ष ओली

इकागज |
मंसिर २४, २०८० आइतवार १६:५८ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन् ।​ आइतबार झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासकाे लागि सहयोगी र अनुकूल संस्थाको रूपमा काम गर्न आवश्यक रहेको जिकिर गरे । उनले बैंकहरूले जुन सर्तमा व्यवसायीहरूलाई ऋण दिएको हो त्यो सर्त पालना गर्न आवश्यकता औंल्याए । उनले बैंक र ऋणहरूबीच ब्याजदर लगायतका विषयमा सर्त पालना नभएर दुवै पक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने भनाइ राखे ।


उनले पछिल्लो समय बैंक र ऋणीहरूबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भए पनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे ।

उनका अनुसार बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अध्यक्ष ओलीले बैंकहरूले कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउनुपर्ने बताए । उनले अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई केही समयका लागि म्याद थप गरेर उद्यम व्यवसायहरूमा सहयोग गर्न आग्रह गरे ।


Author

थप समाचार
x