दल

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रूपमा मनाउने आजपाको निर्णय

इकागज |
माघ २३, २०८० मंगलबार २०:१५ बजे

काठमाडौँ- आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रूपमा मनाउने निर्णय गरेको छ । आजपाको केन्द्रीय कमिटीको काठमाडौँमा सम्पन्न बैठक पश्चात आज जारी विज्ञप्तिमा जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रूपमा मनाउने निर्णय गरेको छ । 

जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रूपमा मनाउने निर्णय गरेको आजपाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय गरेको छ । बैंक, लघुवित्त तथा सहकारीको लुटविरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुटविरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचारविरुद्धको संघर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगीविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पुँजीपतिहरूको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय बैठकले गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।  


यसैगरी राज्यको हरेक निकाय एवं अंगमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई वैधानिकता दिलाउन, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरूलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई बिउ, मल, पानी र पेन्सन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरूमा जारी संघर्षहरूलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ । 

१९ र २१ माघमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले विगतमा पार्टीद्वारा गरिएका विभिन्न कार्य एवं आन्दोलनको समीक्षा समेत गरिएको छ । भगौडा वर्गविरुद्धको संघर्ष, वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक-लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सारलगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्षसहितका जनपक्षीय संघर्षहरूले आम जनतामा आत्मविश्वास र उत्साह तथा राज्यमाथि व्यापक जनदबाब बढाएको निष्कर्ष बैठकको छ । 

यसैगरी पछिल्लो स्थायी कमिटीको बैठकपछि सातै प्रदेश कमिटीहरूको बैठक र मुख्यतः लगभग सबै जिल्ला नेतृत्वको चयन तथा आईटी आर्मीको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम, मधेश बन्द, पार्टीमा प्रवेशको जनलहर, काठमाडौँमा भ्रष्टाचारविरुद्धको मोटरसाइकल र्‍यालीलगायतका कार्यक्रमहरूले पार्टी पंक्तिमा विशेष उत्साह एवं उर्जाको रक्तसञ्चार गरेको निष्कर्ष बैठकको छ । 

पार्टी केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै पार्टीका नेता रामपृत रामलाई सल्लाहकार समितिमा राख्ने निर्णय बैठकले गरेको छ । यस्तै आजपाले ‘दलतन्त्रको विरुद्ध संघर्षको दिशामा अघि बढौं ! संगठन निर्माण र विस्तारमा जोड गरौं !!’ भन्ने मुल नारासहित संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ । 

बैठकले पार्टीको जनवर्गीय संगठनका इन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको छ । आम किसान मोर्चाको इन्चार्जमा मनोज कुमार यादव र अध्यक्षमा अनिल झा, आम सुकुम्वासी संघको इन्चार्जमा ब्रह्मनारायण यादव अध्यक्षमा राज कुमार विक, आम खेलकुद महासंघको इन्चार्जमा सुरेश चौधरी र अध्यक्षमा राजेश्वर साह (राजु), आम इन्जिनियर्स संघको इन्चार्जमा बालकृष्ण सापकोटा र अध्यक्षमा गोपाल साह, आम स्वास्थ्यकर्मी महासंघको इन्चार्जमा बाबुराम कौशिक र अध्यक्षमा हरिओम जयसवाल, आम पत्रकार महासंघको इन्चार्जमा योगेश राल्फाली र अध्यक्षमा मनोज तिमल्सिना, आम जनजाति महासंघको इन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र अध्यक्षमा पासाङ तामाङ, आम उद्योग वाणिज्य महासंघको इन्चार्जमा सागर पाण्डेय र अध्यक्षमा संजय साह, आम मजदुर महासंघको इन्चार्जमा धनकुमारी मगर र अध्यक्षमा शिव थापा रहेका छन् । 

यसैगरी आम शिक्षक संघको इन्चार्जमा उदयचन्द्रप्रसाद अध्यक्षमा संजय साह, आम महिला मोर्चाको इन्चार्जमा कान्तिदेवी महतो, र सहइन्चार्जमा सिमल साह, बबिता यादव र अध्यक्षमा कुमारी बबिता, आम थारु मोर्चाको इन्चार्जमा पलट चौधरी र अध्यक्षमा सरोज चौधरी, आम महिला लघुवित्त पीडित संघर्ष समितिको इन्चार्जमा ई.प्रमोद राणा र अध्यक्षमा आशा सन्जेल, भन्सार लुटविरुद्धको संघर्ष समितिको संयोजकमा रञ्जुकुमारी साह र महिला विभागको प्रमुखमा देवी पण्डित रहेका छन् । 

यसैगरी बैठकले राष्ट्रिय मानवअधिकार आयोगद्वारा बिना कुनै आधार प्रमाण, कपोलकल्पित, कुण्ठित एवं पूर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रूपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्षसहित यसको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ ।


Author

थप समाचार
x