त्यो ३५ घण्टा डा. शेखरले लुम्बिनी कांग्रेसमा एकताको सन्देश फैलाए
शान्तिको उद्गमस्थलबाट प्रजातान्त्रिक शक्तिको खोजी
काठमाडौँ- गिरिजा प्रसाद कोइरालाको १४ औ स्मृतिको दिन तिलोत्तमा नगरपालिकाका रामकृष्ण खाँण भैरहवा विमानस्थलमा बिहानैदेखि थिए । न उनी कतै जान त्यहाँ पुगेका थिए न त परिवारका कुनै सदस्यलाई बिदाइ तथा स्वागत गर्न ।
यसपटक खाँण विमानस्थल पुग्नुको उद्देश्य फरक थियो । उनको हाउभाउले कुनै भिआइपीको पर्खाइमा थिए जस्तो देखिन्थ्यो । उनको बसाइ र वरिपरीको भीडले फरक दृश्य देखाइ रहेको थियो ।
काठमाडौँबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद शेखर कोइराला रुपन्देही जाँदै थिए । तिनै वरिष्ठ नेतालाई स्वागत गर्नु नै उनको प्रमुख उद्देश्य थियो । केही क्षणपछि कोइराला भैरहवा विमानस्थलबाट अवतरण गरेर आन्तरिक टर्मिनल कक्ष पुग्दा खाँणको नेतृत्वमा जय नेपालको नारा घन्कियो ।
खाँण नेपाली कांग्रेसमा देउवा निकटका हुन् । अर्थात कुनै समय देउवा समूहको निकट रहेका बालकृष्ण खाँणका उनी भाइसमेत हुन् । हाल तिलोत्तमा नगरपालिकाका प्रमुख र नेपाली कांग्रेसका रुपन्देही पार्टी सभापतिसमेत हुन् ।
कुनै समय कोइराला समूहको नेता गएका ठाउँमा देउवा समूहका नेता तथा कार्यकर्ता पुग्दैन थिए । तर यो पटक भने रुपन्देही कांग्रेसमा फरक दृश्य देखिएको थियो । जसले कांग्रेसमा वर्षौदेखि मौलाइरहेको गुटको अन्त्य भएको सन्देश फैलाउँदैछ ।
गुटको अन्त्य भएको सन्देश
खाँणले कोइरालाको साथ तबसम्म छोडेनन् जबसम्म उनी रुपन्देहीमा रहिरहे । बुटवल उपमहानगरपालिका १२ तामनगरमा गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवनको शिलान्यास गर्न पुगेका कोइरालासँगै खाँण अघिपछि देखिरहे । जति समय रहे उनकै साथमा रहे ।
लाग्थ्यो कि उनको कोइरालासँग निकटताले केन्द्रमा देखिएको गुट अब सकियो । खाँण कोइरालाको सामीप्यतामा रहँदा अब केन्द्रमा भनेजस्तो जिल्ला र प्रदेशमा कांग्रेसको गुट सकिएको सन्देश गइरहेको देखिन्थ्यो । किनभने उनी बसेसम्म लुम्बिनी प्रदेशभरिका सबै नेतालाई एकै ठाउँमा भेला भएका थिए ।
गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवनको शिलान्यास कार्यक्रममा खाँण समूहका बढी कार्यकर्ता देखिन्थे । कोइरालासँग फोटो खिच्ने र केही क्षण कुराकानी गर्न लालायित देखिन्थे ।
यस पटक भवनको शिलान्यास गर्न पुगेका कोइरालाले लुम्बिनीबाट गुटको अन्त्य र फरक अभ्यास भएको सन्देश दिन खोजे । कार्यकर्ता तथा अन्य सहभागीहरू पनि उत्साहित देखिन्थे ।
‘ व्यक्तिको भन्दा पनि नेपाली कांग्रेसमा लोकतन्त्र जोगाउनेहरूको साथमा रहने योद्धा भनिरहन्थे,’ कोइरालाले फोटो खिच्न आउनेहरूलाई भन्थे,’ हामी एक भयौ भने लोकतन्त्र र पार्टी बलियो हुन्छ । प्रजातान्त्रिक शक्ति बलियो भएमा पार्टी आफैँ बलियो हुन्छ ।‘
शिलान्यासले प्रजातान्त्रिक शक्तिको खोजी
रुपन्देहीमा ३५ घण्टा सम्म बसेका कोइरालाले खासै फुर्सद पाएनन् । यसपटक भवन शिलान्यासका लागि पुगेका उनले पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सांसद, प्रदेश पदाधिकारी र आठै जिल्लाका सभापतिसँग छलफल गरे ।
कोइरालाले सबै सांसद, मुख्य मन्त्री, प्रदेश पदाधिकारी र सभापतिको कुरा सुनिरहे । लुम्बिनी प्रदेशमा पुगेका केन्द्रीयस्तरका नेताले यसअघि प्रदेशभरिका पार्टी सबै पदाधिकारीलाई यसरी भेला पारेका थिएनन् ।
सबै जिल्ला सभापति, प्रदेश पदाधिकारी, प्रदेशसभा सांसद र मुख्य मन्त्रीसँगै यसपटक उनले डिनर गरेका थिए । कोइरालाले स्थानीय तहका प्रमुख र पार्टीका पदाधिकारीको संवादहीन संस्कृति हटाउन समेत पहल गरेका थिए । पार्टीबाट गएर मेयर बन्ने तर पार्टीका पदाधिकारीसँग संवादविहीन रहँदा कार्यकर्ता र पार्टी कमजोर हुने कोइरालाले चिन्ता गरेका थिए ।
सहभागी एक नेताले भने,’ पहिलोपटक हामीलाई एकै ठाउँमा राखेर छलफल गरी सुन्ने र सुनाउने अवसर वरिष्ठ नेता कोइरालाले गर्नुभयो ।‘ कोइरालाले बोलेनन् उनले सहभागी सबै पदाधिकारीको कुरा सुनिरहे ।
दृश्य देख्दा लाग्थ्यो सुन्ने काम कोइरालाको मात्र हो । उनी मौन थिए । उनले अरु बोल्दा आँखा प्रदेश र जिल्लाका सबै नेताहरूप्रति घुमाइरहन्थे । माहोल हेर्दा लाग्थ्यो लुम्बिनी प्रदेशबाटै कांग्रेसको गुट अन्त्य हुँदै थियो । उनको उद्देश्य प्रजातान्त्रिक शक्तिलाई सुन्ने र एकढिक्का बनाउने थियो ।
मौन रहेका शेखर
सहभागी नेताले कोइरालालाई सुनाइरहेका थिए,’ सबैका लागि कांग्रेस बनाउनुहोस्, टुक्रिएका र फर्किएका अनुहार बनाउनु छैन ।‘ एउटा समूहको नेता जिल्ला आउँदा अर्को समूहका भनेर पार्टीका नेता र कार्यकर्ताको उपस्थिति रहँदैन । यस पटक कोइरालाको कार्यक्रममा समूह भएको आभास देखिंदैन थियो ।
फरक तरिकाले सबै कांग्रेसीलाई यसपटक कोइरालाले ३५ घण्टाको बसाइमा फरक-फरक तरिकाले सुनिरहे । लाग्थ्यो यो पटक उनी बोल्ने नेता भन्दा पनि श्रोता बनेर रुपन्देही पुगेका थिए ।
कोइराला हरेक पटक गृह जिल्ला दौडाहामा भनौं वा अन्तर जिल्लामा पुग्दा पार्टीका पुराना मानिस वा बिरामी भए घर खोज्दै पुग्छन् । अझ मन्दिर देखेमा पुगेर पूजा गरि हाल्छन् । समाजमा प्रभाव पारेका सामाजिक संस्थामै पुग्छन् । सम्बन्धित व्यक्तिसँग भेटघाट गरेर छलफल गर्छन् ।
पार्टीमा लामो समयसम्म योगदान पुर्याएकाहरूसँग अन्तरक्रिया गर्ने र उनीहरूको हालखबर सोधपुछ गर्ने उनको आदतै बसिसकेको छ । रुपन्देही पुग्दा कोइरालाले पार्टीका पुराना मानिसलाई खोज्न भुलेनन् । भुपु सैनिक संघका पदाधिकारी कुलबहादुर केसीलाई भेटे । उनले पार्टीमा पुर्याएका योगदानका कुराहरू कोइरालाले सुने ।
सबैभन्दा फरक अभ्यास यसपटक उनले रुपन्देही पुग्दा बुद्धिजीवी र प्रजातान्त्रिक चिकित्सकसँग छलफल गर्न सम्म भ्याए । जिल्लाका बुद्धिजीवीले कुनै नेतालाई यसरी बोलाएका थिएनन् । बुद्धिजीवीले पहिलोपटक कोइरालालाई छलफलका लागि निमन्त्रणा गरे । कोइरालाले बुद्धिजीवीहरूको कुरा सुनेकामा उनीहरू उत्साहित देखिन्थे ।
लुम्बिनीमा बुद्धिजीवी उत्साहित
व्यवसायीको अनुनय डा. शेखरसँग
उनले बुद्धिजीवी र चिकित्सकका आवाजहरू सुनिरहे । सहभागी एक बुद्धिजीवीले भने,’ कांग्रेसका नेताले बोलाएर यसरी पहिलोपटक यसरी सुने । सुन्नेमा तपाई पहिलो हो । नेता कोइरालाले यसरी सुन्ने कार्यको थालनी गर्नुमा हामी जस्ता मानिसहरूको आवाजले स्थान पाउँछ भन्ने आभाष भयो ।‘
कोइरालासमक्ष कांग्रेसले बुद्धिजीवीलाई कहिले नसमेटेको गुनासो गरेका थिए । बुद्धिजीवीले भने,’ एउटै व्यक्तिको हातमा पार्टीको नेतृत्त्व हातमा रहँदा पार्टी कमजोर हुन्छ । सांगठनिक क्रियाकलाप चुस्त दुरुस्त समेत हुँदैन । तपाइ जस्तो मानिस आउनु पर्यो । पार्टीभित्र हस्तक्षेप गरेर अगाडि आउनुपर्यो ।‘
डा. कोइरालाले छलफलमा सहभागीहरूको सुझाव टिपे । सुझाव लिएपछि उनले नेपाली कांग्रेसको आगामी बाटो, निर्वाचनमा समानुपातिक प्रणाली,भ्रातृ संगठनको पुनर्जागरण र मुलुकको आर्थिक अवस्था विषयमा सरोकार निकायसँग सुझाव लिएर पार्टी, सांसद र सरकारलाई दबाब दिने धारणा राखेका थिए ।
जिल्लामा पुगेदेखि व्यवसायीहरूको दुःख र व्यथासमेत सुन्न आतुर थिए । मुलुकको अर्थतन्त्र धान्नमा व्यवसायीको अहम भूमिका रहन्छ भन्ने उनले सुनेका थिए । उनको खोजी र नजर व्यवसायीमा पर्यो ।
डा. कोइरालाको अगाडि व्यवसायीले दिनप्रतिदिन कांग्रेस कमजोर हुँदै गइरहेकोमा चिन्ता गरेका थिए । ‘लोकतन्त्र धर्मरायो, गरिखाने व्यवसायी पलायन हुँदै गए र व्यवसायीलाई अप्ठ्यारो भयो,’ व्यवसायीले भनेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया