छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो सरकार संसद अधिवेशन अन्त्य गरेर भाग्यो - काँग्रेस
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेकाले छानबिन गर्न प्रतिपक्षले उठाएको माग सम्बोधन गर्नुको साटो बेवास्ता गरी सरकार जवाफदेहीताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले संसदमा आफूहरूले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएको र सत्तापक्षकै कतिपय सांसदहरूले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको बताए ।
जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना र ठगी भएको जनविरोधी कार्यमा सरकारका मन्त्री संलग्न रहेको पुष्टि स्वयंम सरकारले नै पुष्टि गरेको समेत उनले दाबी गरे । प्रमुख सचेतक लेखकले हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको कांग्रेसले घोर भर्त्सना गरेको भन्दै सरकारलाई संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम नगर्न चेतावनी दिए । उनले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्याशित रूपमा अन्त्य भएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।
प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने सत्तापक्षको तर्क लज्जास्पद रहेको भन्दै लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले २ दिनमात्रै संसद अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने उल्लेख गरे ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया