डाँगीलाई शहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा घाइते भएर निधन भएका ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।
राप्रपाले चैत २७ गतेको काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भइ छाउनी अस्पतालमा उपचाररत डाँगीको दु:खद निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको निधनले पार्टीलाई ठूलो क्षति भएको बताएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि भएको प्रशासनिक दमन निन्दनीय रहेको र नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।
डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष थिए ।
प्रवक्ता श्रेष्ठले भनेका छन्, 'प्रदर्शनमा प्रहरीको अन्धाधुन्ध लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहारबाट चार दर्जन बढी घाइते भएका, ति मध्ये कैयौं घाइते उपचारपछि घर फर्किसकेको र जटिल शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् । प्रहरीको दमन र अश्रुग्यास प्रहारबाट घाइते भएका डाँगीको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । डाँगीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको छ ।'
डाँगीको निधनमा शोक प्रकट गर्न राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औं दिनको पुण्य तिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया