दल

राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपछि शेखर कोइरालासँग गगन थापाको छलफल

इकागज |
बैशाख ३०, २०८१ आइतबार १३:१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन कुमार थापाबीच भेटघाट भएको छ । आइतबार बिहान कोइरालाको बालुवाटारस्थित सचिवालयमा उनीहरूबीच भेटघाट भएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राखेर कांग्रेसले संसद्‌ अवरूद्ध गर्दै आइरहेको छ । भेटघाटमा संसद्‌को अवरोधबारे छलफल भएको बताइएको छ । 


थापालगायत कांग्रेस नेतृत्वले शनिबार राष्ट्रपति रामचन्द्र पौडेल र आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संसद्‌को अवरोध हटाउनेबारे छलफल गरेका थिए । उक्त छलफलपछि कोइरालासँग थापाले भेटघाट गरेका हुन् ।

कोइराला र थापाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिए ।

आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि कांग्रेसले छलफल सकारात्मक भएको जनाएको छ । बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरूको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका थिए । 'हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ’ लेखकले भनेका थिए ।


Author

थप समाचार
x