दल

कांग्रेस संस्थापकका पुत्रहरू सभापति हुन सक्रिय

इकागज |
असार ७, २०७८ सोमबार १४:४५ बजे

काठमाडौँ :  नेपाली कांग्रेसको संस्थापक हस्तीका पुत्रहरू कांग्रेस बलियो बनाउने नाममा आफू नेतृत्वमा जाने गरी दौडधूपमा लागेका छन् । कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले आफूलाई सभापतिको दाबी गर्दै कांग्रेस सुधारको विषय उठाउन थालेका छन् । 

आशन्‍न महाधिवेशनमा सभापति पदका दाबेदारहरूको दौडधुप र भेटघाट बाक्लिएको अवस्थामा उपसभापति विमलेन्द्र निधिले बीपी पुत्र डा. शशांक र गणेशमान पुत्र प्रकाशमानलाई आफ्नै घरमा निम्त्याएका हुन् । यसबाट स्पष्ट हुन्छ संस्थापककै पुस्तामा नेतृत्व लैजान उनीहरूका पुत्र लागि परेका हुन् ।  


सभापति शेरबहादुर देउवाले पुनः सभापति हुने आकांक्षा देखाए पछि उनी निकट मानिएका  कांग्रेस उपसभापति  निधिले छलफल गरेका हुन् । उनले आफू यसपटक सभापतिबाट पछि नहट्ने जनाइसकेका छन् । उनले सोमबार महामन्त्री डा. शशांक र पूर्वमहामन्त्री प्रकाशमानसँग विशेष छलफल गरेका हुन् । 

उनले आफ्नो आफ्नो वैवाहिक वार्षिकोत्सव (वेडिङ एनिभर्सरी) पारेर परिवारसहित नै निम्ता गरेका हुन् । निधिले अगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने र त्यसबाट आफू पछि नहट्ने जनाइसकेको अवस्थामा त्यहाँ एकले अर्कालाई समर्थनको कुरा भएको स्पष्ट छ । पार्टी सभापतिको लागि डा. शशांक पनि उत्तिकै आकांक्षी र आफूले छोड्न पर्दा दाजु डा. शेखर कोइरालालाई छोड्न सक्ने अवस्था रहेको देखिन्छ । डा. शेखरले पनि यसअघि नै सभापतिको घोषणा गरेर देश दौडाहासमेत गरेका थिए । 

पछिल्लो समय देउवाको कटु आलोचकको छवि बनाएका उनी युवालाई लिएर अघि बढ्ने नेतृत्वको रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । उनले भनेका छन्, ‘सभापति हुँदैमा प्रधानमन्त्री नहुने तर सभापति भएर पार्टी चलाउने र त्यहाँबाट नै अर्को योग्य उमेदबारलाई प्रधानमन्त्री बनाउने विषय म स्पष्ट छु ।’ उनले पटक-पटक भन्दै आएका छन्, ‘अब प्रकाशमान संसदीय दलको नेता र म सभापति हुने हो । युवालाई महामन्त्रीमा ल्याउने हो ।’ 

डा. कोइरालाले सोमबार नै बिहान पूर्व महामन्त्री सिंहसँग चाक्सिबारीमा छलफल गर्दै आगामी दिनमा कांग्रेसबाट प्रधानमन्त्री यहाँ नै हो भनेको चाक्सिबारी श्रोतले बतायो । कांग्रेसमा सुधारको पहल गर्न पर्नेमा समेत उनले जोड दिइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्नो चाहना सभापति नै रहेको बताउँदै आए पनि आगामी निर्वाचनपछि थप संरक्षकको भूमिकामा लैजाने गरि मनाउन प्रयास भइरहेको छ । 

निधिको उम्मेदवारीले देउवालाई अप्ठ्यारो पर्नसक्ने हुनाले पनि डा. शेखर भेटघाटमा बढि नै सक्रिय छन् । उनले आफ्नो परिवारको कुरा मिलिहाल्ने र बाहिरको विषयमा आफूले छलफल गरिरहेको बताइरहेका छन् । यसबीच देउवाले पनि छलफललाई तिव्र पारेका छन् । उनले प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले अघिल्लो निर्वाचनमा आफूलाई सहयोग गर्न भनेको र अहिले आफू उठ्न लागेकोले निधिले बताउँदै आएका छन् । 

निधिकोमा भएको छलफलमा डा. शशांक र सिंहले पनि सभापितमा आफूहरूको दाबी राखेका थिए । ‘म के कारणले अब पछि हट्ने किन नेतृत्व नलिने ? स्पष्ट पारिदिनुहोस् ।’ उनले निधिसँगै रहेका शशांकतर्फ फर्केर भनेका थिए । इकागजसँगको कुरामा पनि सिंहले आफू अब पार्टी चलाउने र कांग्रेस बलियो बनाउने अभियानमा लाग्‍ने बताउँदै भनेका थिए,‘वर्तमान नेतृत्वले कांग्रेसलाई ध्वस्त पारेका छन् । अब, उकास्‍न अवश्यक छ ।’ 

उनीहरुले आआफ्नो दा‍बी प्रस्तुत गरेपनि आगामी १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन गर्न आवश्यक रहेकोमा सहमत भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतसँग छलफल गरेर नै पार्टीलाई अघि बढाउने बताएका छन् । सिंह र कोइरालाले आफूलाई दाबी गरिरहँदा निधिले देउवाको सदभावसमेत लिएर आफू अघि बढ्नसक्ने भन्दै यसमा विचार गर्न आग्रह गरेका थिए ।

देउवा पनि निधि निवासमा पुगेका छन् । उनी दिनेश कोइरालाको निधनको १३ औँ दिनको तिथिमा सहभागी भएर निधिकोमा पुगेका हुन् । तर कांग्रेस सभापतिले देउवाले  विभिन्‍न वहाना बनाएर एक कार्यकाल यसै लैजान सक्ने पनि देखिएको छ । उनी त्यही नाताबुनामा लागि परेका छन् । संसद्‍मा प्रतिपक्षको रूपमा देखिन नसकेका उनी यसमा लागेका हुन् । 


Author

थप समाचार
x