दल

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : गिरी बन्धु टि-स्टेट, वाईडबडी, यती, ओमनी, भुटानी काण्डको पैसा कसले खायो ?

इकागज |
भदौ ११, २०८१ मंगलबार १८:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय अनैतिक गठबन्धनले मुलुक बर्बाद हुन लागेको टिप्पणी गरेका छन् । 

काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आज (मंगलबार) देखी सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलीय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।


‘विचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका थिए । तर, सत्ता स्वार्थले एक भए, अहिले भ्रष्टाचारीलाई जोगाउनका लागेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो । भ्रष्टाचारीलाई जोगाउन मिलेका हुन् ।’

निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरूले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ । ‘एउटा व्यापारीले पैसा लिएपछि समान दिन्छ । तर, यिनीहरूले जुन कुरा दिन्छु भनेर मत मागे त्यसको विपरीत काम गरेपछि के जनतासँग लिएको मत फिर्ता गर्नुपर्दैन ?’ साहले प्रश्न गरे । 

यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्गित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, तर त्यो गिरी बन्धु टि–स्टेट, वाईडबडी, यती, ओमनी, भुटानी काण्ड, बालमन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखि टेरामक्स लगायतका काण्डै काण्डले बदनाम सरकार र यि नेताहरू के दालभात मात्रै खाएका हुन त ? दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्री ज्यू ? अनि तपाईँहरूले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुँडिखेलका ति सोझा युवाहरू असभ्य भए, संस्कार भएन भन्ने । अनि के तपाईँहरूले जुन देश लुटिराख्नु भएको छ त्यो सभ्य र संस्कारको काम हो ?’

कांग्रेस र एमालेले संविधान संशोधनका लागि दुई दलको गठबन्धन भएको बताउँदै आएका छन् । आजपा अध्यक्ष साहले आफैँले बनाएको संविधान कार्यान्वयन नहुँदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासँग माफी माग्नुपर्ने बताए । आफैँले उत्कृष्ट संविधान बनाएको भन्दै गर्भ गर्ने नेताहरूले अहिले आएर संशोधन गर्ने भन्नु भन्दा पहिला माफी माग्नुपर्ने बताउँदै यस्ता संविधान खारेज गर्नुपर्ने उनले बताए ।  

मुलुकमा सरकारको मनोमानी बढेको बताउँदै उनले कर, महंगीले नेपाली जनता आजित भएको बताए । ‘हरेक वस्तुमा मनलाग्दी कर सरकारले लिइरहेको छ । हरेक वस्तुको महंगी बढ्दै गइरहेको छ । घर चलाउन धौधौ भइरहेको छ । जनता लुट्ने यि नेताले अहिले लुटतन्त्र मचाएका छन् । यसरी मुलुक समृद्ध हुन सक्दैन,’ साहले भने, ‘नेपाली नागरिकता त्यागेर विदेश बसेकाको सम्पत्ति कहाँ छ ? कति छ सरकारले भन्नुपर्यो । लुटेरा नेताहरूले देश चलाएपछि भ्रष्टाचार बढेको हो । अब आम जनताले नै भ्रष्टाचारीलाई जनकारबाही गर्ने समय आएको छ । त्यसैले हामीले दलाल दलतन्त्र, लुटतन्त्र, बेथिति, भ्रष्टाचारको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उद्‍घोष गरेका छौं ।’

दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय गर्ने बारेमा गम्भीर छलफल हुँदैछ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष साहले त्यसबारेमा अगामी कार्ययोजना समेत बैठकमा पेश गर्दैछन् । 

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने बताए । बैठकले अब हुने आन्दोलन सशक्त र कडा बनाउने योजनासहित अगाडि बढ्ने बताए । बैठकमा सोही विषय केन्द्रित विषयमा गम्भीर छलफल हुने उनले बताए । 

बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समीक्षा पनि हुनेछ । आजपा महासचिव साहका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैंकिङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समीक्षा हुने एजेण्डा तय भएको छ । साथै यि आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र अगामी दिनमा कसरी अगाडि बढाउने बारेमा समेत छलफल र योजनाको बनाउने काम हुनेछ । 

यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै सशक्त बनाउने र आम शैक्षिक हडताल (आम शैक्षिक आन्दोलन) बारे समेत निर्णय हुनेछ । आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थी अनुपातमा मधेसमा शिक्षकको व्यवस्था सरकारले गराउन सकेको छैन । यस बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा जानुपर्ने र त्यसबारेमा समेत बैठकले निर्णय गर्ने उनले बताए । 

तेस्रो जनआन्दोलनको बारेमा मात्रै नभई विगतको आन्दोलनको समीक्षा गर्दै अगाडि बढ्ने बारेमा छलफल गर्दै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूको जिम्मेवारी समेत सोही अनुसार आन्दोलन केन्द्रित कार्यविभाजन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले बताए । नेताहरूलाई आन्दोलनको विभिन्न जिम्मेवारी तोकेरै परिचालन गर्ने योजना रहेको छ । आन्दोलन केन्द्रित नेताहरूको कार्यविभाजन गर्दै सशक्त रूपमा अगाडि बढ्ने उनले बताए ।


Author

थप समाचार
x