दल

कांग्रेसमा क्रियाशील सदस्यता विवाद

लेखकलाई प्रश्‍‍न ः नविकरणको सूचीमा पनि सिफारिसबिना नयाँ थपेर पठाउन मिल्छ ?

मधुसुधन भट्टराई |
असार १९, २०७८ शनिबार १८:१९ बजे

काठमाडौँ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ गठित क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आफ्नै प्रतिनिधि सभा क्षेत्र (कञ्‍चनपुर-३) मा पुरानो क्रियाशील सदस्यता नविकरणको सूचीमा सिफारिसबिना नयाँ थपेर पठाएको तथ्य फेला परेको छ । लेखकले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भिमदत्त नगरपालिका-५ मा सिफारिसबिना ७ जनाको नाम थपेर पठाएका हुन् । 

पुरानो क्रियाशील सदस्यता नविकरणका लागि वडा समितिले नगरलाई, नगरले प्रदेश सभा क्षेत्रलाई प्रदेश सभा क्षेत्रले प्रतिनिधि सभा क्षेत्रलाई, प्रतिनिधि सभा क्षेत्रले जिल्लालाई र जिल्लाले बल्ल केन्द्रमा पठाउने हो । यसमा वडाको सहमतिबिना कसैले काटछाट गर्न नपाउने व्यवस्था छ । तर, लेखकले मातहतका कुनै पनि निकायलाई थाहै नदिइकन नविकरणको सूचीमा ७ जनाको नाम थपेर क्रियाशी सदस्यताको सूची सार्वजनिक गरेपछि विवाद भएको हो ।


भिमदत्त नगरपालिका-५ का सभापति श्यामसुन्दर ठकुराठीले कुनै पनि निकायको सिफारिसबिना छानबिन समितिका संयोजक लेखकले नविकरणको लिष्टमा ७ जना थपेर पठाएको बताए । ‘पार्टी विधान अनुसार पुरानो क्रियाशील नविकरण वडाको सिफारिसबिना हुँदैन । तर, छानबिन समितिका संयोजक रमेश लेखकले कुनै पनि निकायबाट  सिफारिस नगरी ७ जना थपेर पठाइदिनु भयो,’ ठकुराठीले इकागजसँग भने, ‘त्यो बदर गर्न हामीले छानबिन समितिलाई पत्र लेख्यौं । त्यसको अवलम्बन भएपछि केन्द्रीय सभापतिलाई पत्र लेखेका छौं । अझै सुनुवाइ भएको छैन ।’ 

कांग्रेसको छानबिन समितिले सार्वजनिक नामावली

ठकुराठीका अनुसार लेखकले सिधै नविकरणको सूचीमा कृष्णदेव पन्त, दशरथ ओड, नरेन्द्र थापा, मोहनसिंह थापा, देबकी धामी, तेजसिंह थापा र सुरेश खड्काको नाम थपेका छन् । थपिएका तेजसिंह २०७४ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध बागी लडेपछि कारबाहीमा परेका थिए । उनको कारबाही अहिलेसम्म फुकुवा भएको छैन । 

त्यस्तै तल्ला निकायलाई थाहा नदिइ पार्टीको कञ्चनपुर जिल्ला समितिले थपेर पठाएका तीन जनाको नाम पनि छानबिन समितिले पार्टीको सर्भरमा सार्वजनिक गरेको छ । जिल्लाले तल्ला चार तहको सिफारिसबिन पुस्करराज भट्ट, पुस्कर पन्त र किसन भट्टको नाम थपेर पठाएको आरोप वडा सभापति ठकुराठीले जानकारी दिए । त्यो जिल्ला समितिले असार ५ गने सिफारिस गरेको जानकारी आफूहरूले पाएको र आपत्ति जनाएको उनको भनाइ छ । 

वडाले पठाएको नामावली

वडा समितिले २०७७ भदौ ११ गते नविकरणका लागि वडामा ६७ जना क्रियाशील सदस्य रहेको भन्दै तीन जनाको मृत्यु भएकाले ६४ जनाको नामावली नगर हुँदै क्षेत्रमा पठाएको थियो । क्षेत्रीय समितिले २०७८ वैशाख ५ गते वडालाई सबै नाम स्वीकृत गरेर नविकरणका लागि जिल्लामा सिफारिस गरिएको मौखिक जानकारी दियो । त्यही वैशाखकै १५ गते क्षेत्रीय समितिका सचिव प्रकाश जोशीले ६४ जनाको नाम प्रमाणित गरी नविकरणका लागि पठाएको जानकारी वडालाई दिए । ‘वडाले पठाएको पत्र अनुसारको नविकरण अन्तिम नामावली प्राप्त भयो,’ जोशीले पत्रको प्रतिउत्तर दिँदै भनेका छन् । 

तर, ३० वैशाखमा केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्दा ७१ जनाको आएपछि वडाले वडाले निर्णय गरी सिफारिस गरेका ६४ बाहेकका नाम रद्द गर्न माग गर्दै गत जेठ ७ गते केन्द्रीय सभापति शेरबहादुर देउवाका नाममा पत्र लेखेको छ ।

‘हामीले छानबिन समितिलाई लिखित र मौखिक रूपमा आग्रह गर्दा हाम्रो मौखिक आग्रह र लिखित पत्रको अवमुल्यन भएपछि सभापतिलाई पत्र लेखेका छौं । नियमविपरीत नविकरणको सूचीमा थपिएका क्रियाशील रद्द हुने आशामा छौं,’ ठकुराठीले भने । 

कांग्रेसको क्रियाशील सदस्यता छानबिनमा विवाद भइरहेको छ । शुक्रबार मात्रै पदाधिकारी बैठकले मापदण्ड तय गरेको छ । 

यो पनि...

कांग्रेसको क्रियाशील सदस्यता छानबिन गर्न ४० लाख पेश्की !


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x