दल

विमलेन्द्रसँग डा. शेखरले भने : चाहेर पनि अब सभापतिको उम्मेद्वारीबाट पछि हट्न सक्दिन

इकागज |
असार २१, २०७८ सोमबार २०:१५ बजे

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब आफूले चाहेर पनि सभापतिको उम्मेद्वारीबाट पछि हट्न नसक्ने बताएका छन् । उपसभापति विमलेन्द्र निधिसँग १४ औं महाधिवेशनबारे मिलेर जाने विषयमा आज भएको भेटवार्तामा नेता डा. कोइरालाले आफूसँग सभापतिको उम्मेद्वार बन्‍ने बाहेक अर्को विकल्प नरहेको बताएका हुन् । 

निधि निवास वानेश्वरमा भएको भेटमा भेटको सुरुवात गर्दै उपसभापति निधिले आफूलाई सहयोग गर्न डा. कोइरालालाई आग्रह गरेका थिए । ‘आगामी महाधिवेशनमा मलाई सहयोग गर्नुस्, अरु के मा सहयोग गर्नुपर्छ म गर्छु,’ निधिले कोइरालालाई गरेको आग्रह उध्रित गर्दै स्रोतले भन्यो ।


जवाफमा डा. कोइरालाले आफू चाहेर पनि सभापतिमा उम्मेद्वारी दिने निर्णयबाट पछि हट्न नसक्ने भन्दै सहयोग गर्न आग्रह गरेका थिए । ‘मैले १३ औं महाधिवेशन लगत्तै १४ औं महाधिवेशनमा सभापतिमा दाबी गर्दै देश दौडाह गरे । अहिले दुरदराजका पार्टीका साथीहरूको मलाई धेरै प्रेसर छ,’ कोइरालाले निधिलाई भने, ‘अब चाहेर पनि म सभापतिको उम्मेद्वारीबाट पछि हट्न सक्दिन । मलाई सहयोग गर्नुस्, अरु विषयमा के सहयोग गर्नुपर्छ म गर्न तयार छु ।’

नेता कोइरालाले आफू एक पटकमात्रै सभापतिको उम्मेद्वार बन्ने बताएका थिए । ‘म एक पटकमात्रै सभापति बनेर लथालिंग भएको पार्टीलाई व्यवस्थित बनाउने प्रयास गर्छु,’ कोइरालाले निधिसँग भने । तर, निधिले आफूलाई सहयोग गर्न मात्रै भनेको र डा. कोइरालाको आग्रहमा जवाफ नदिएको स्रोतले बतायो । 

डा. कोइरालाले नेताहरूलाई भेटेर आफूलाई सहयोग गर्न महाधिवेशनको मिति १६ देखि १४ भदौसम्म तोकिएपछि आग्रह गर्दै आएका छन् । उनले आइतबार मात्रै नेता आर्जुनरसिंह केसीलाई उनकै निवासमा पुगेर भेट्दै सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए । केसी पनि सभापतिका आकांक्षी हुन् । 

त्यस्तै १४ असारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर सभापतिमा सहयोग गर्न र आफू प्रधानमन्त्रीको उम्मेद्वार बन्न आग्रह गरेका थिए ।   १२ असारमा नेता प्रकाशमान सिंह र युवा नेता गगन थापासँग गोप्य भेटघाट गरेका थिए ।  

त्यस्तै उनले नेताहरू गुरु घिमिरे, चन्द्र भण्डारी, दीलेन्द्र बडूलगायतसँग निरन्तर छलफल गरिरहेका छन् ।  
 


Author

थप समाचार
x