दल

एमाले कार्यदल बैठक : सहमति नजिक पुगेको गोकर्ण विष्‍टको दाबी

इकागज |
असार २३, २०७८ बुधबार १३:४२ बजे

फाइल तस्‍बिर

काठमाडौँ : नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदल सदस्य गोकर्ण विष्‍टले आफूहरू सहमति नजिक पुगेको दाबी गरेका छन् । बुधबारको कार्यदल बैठकपछि सञ्‍चारकर्मीलाई स‌क्षिप्‍त प्रतिक्रया दिँदै नेता विष्‍टले पार्टीमा देखिएको असहज परिस्थितिका सन्दर्भमा सार्थक परिणाम र निष्‍कर्षमा पुर्‍याउन कार्यदलले काम सुरु गरेको बताए । यसअघि देखिएको अविश्‍वासको खाडल र दूरी कम भएको बताउँदै अब केही दिनमै निष्कर्षमा पुग्‍ने विश्‍वास उनले व्‍यक्‍त गरे । 

'लामो समयदेखि देखिएको असहज परिस्थतिका सन्दर्भमा समाधान खोज्नको लागि सार्थकमा परिणमा र निष्कर्ष पुर्‍याउन कार्यदले काम सुरु गरेको छ,' उनले भने, 'तेस्रो बैठकसम्म आइपुग्दा जुनजुन मुद्दामा विवाद देखिएको थियो ती मुद्दामा निष्कर्षमा पुगिसकेका छौं । सार्थक परिणाम प्राप्त गर्न सक्छौ भन्ने लाग्छ । सकारात्मक भएको छ । अविश्वासको खाडल र दूरी कम भएको छ । विश्वासको वातावरण बनेको छ । सहमतिको नजकिमा छौं । दिन नतोकौं। हामीले गरेको लामो प्रयत्नले सार्थक परिणाम प्राप्त गर्छ । कार्यकर्ताको चाहना पूरा हुन्छ ।'


यसअघि कार्यदल सदस्‍य प्रदीप ज्ञवालीले पनि विवाद समाधान उन्मुख रहेको बताएका थिए । विवादको विषयमा भोलिसम्म निष्कर्ष आउने उनको दाबी थियो ।

एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यता नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।


Author

थप समाचार
x