दल

गठबन्धन बैठक

देउवाले भोलि नै गठबन्धनका दललाई समेटेर सानो मन्त्रिपरिषद् बनाउने

मन्त्रीको नाम शीर्ष नेताले टुंग्याउने

मधुसुधन भट्टराई |
असार २८, २०७८ सोमबार १९:१९ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दललाई समेटेर सरकार बनाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि बसेको गठबन्धन बैठकले सबै दललाई समेटेर सरकार बनाउने निर्णय गरेको छ । 

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर नजिकै बसेको गठबन्धन बैठकले देउवाले सर्वोच्चको आदेश बमोजिम भोलि नै शपथ ग्रहण गर्ने र शपथका बेला सबै दलका नेतालाई समेटेर सानो आकारको मन्त्रिपरिषद् बनाउने सहमति गरेको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।


‘सम्भवत भोलि नै सर्वोच्चको परमादेश बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा शपथ लिनुहुन्छ,’ महामन्त्री खड्काले इकागजसँग भने, ‘शपथसँगै सानो आकारको मन्त्रिपरिषद् पनि बनाउनुहुन्छ । र त्यो मन्त्रिपरिषद्‍मा क-कसलाई राख्‍ने भन्ने विषयमा भोलि गठबन्धनका शीर्ष नेताहरू बसेर सहमति गर्नुहुन्छ ।’

सरकारको प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर अघि बढेका थिए ।

उनीहरूले प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिटसमेत दायर गरेका थिए । संविधानको धारा ७६ को उपधारा पाँच बमोजिम १४६ सांसदको हस्ताक्षरसहित उनीहरूले दायर गरेको रिटको पक्षमा फैसला आएपछि आज गठबन्धनको बैठक बसेको थियो । 

बैठकले मन्त्री तय गर्ने जिम्मा कांग्रेस सभापति देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललाई दिएको हो । 

बैठकमा एमालेबाट नेता नेपालसहित रघुजी पन्त सहभागी थिए । 

त्यस्तै नेपाली कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री खड्का, नेता कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए । त्यस्तै जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव, राजेन्द्र श्रेष्ठ, महेन्द्र राययादव सहभागी थिए ।

माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, नारायण काजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुनसहितका नेताहरू सहभागी थिए । राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल पनि गठबन्धनको बैठकमा सहभागी थिए ।  

बैठकपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्‍नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको जानकारी दिए ।

माओवादी नेता देव गुरुङले बैठकमा दलिय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको जानकारी दिए । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दै सबैलाई आभार प्रकट गरिएको उनले बताए । सरकार गठन एकलौटी ढंगले नचलाई सबै राजनीतिक दलहरूसँग सल्लाह गर्न आग्रह गरेको बताए । 

एमाले नेपाल समूहका नेता रघुजी पन्तले सर्वोच्चको आदेश संगै नया परिस्थिति श्रृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्‍न नेताहरूलाई आग्रह गरेको जानकारी दिए ।  एकलौटी र एकपक्षीय ढंगले चल्ने कुराको सधै विपक्षमा रहदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढंगले नचल्न आग्रह गरेको उनले बताए ।

उनले भने, 'एकलौटी ढंगले नचल्नुहोस् । हाम्रो पार्टी नेकपा एमाले लगायत सबै राजनीतिक दलहरूसँग सरसल्लाह गरेर, उनीहरूलाई पनि साथमा लिएर अलि फराकिलो ढंगले सरकार बनाउने प्रयत्‍न गर्नुहोस् । लोकतन्त्र, गणतन्त्र संविधान र संघीयताको रक्षाका लागि दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता अहिले पनि छ ।'


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x