दल

कति छन् देउवाको पक्षमा सांसद, पाउलान् त विश्‍वासको मत ?

यस्तो छ अंकगणित

मधुसुधन भट्टराई |
साउन ३, २०७८ आइतबार ११:१० बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह चार बजेबाट सुरु हुने प्रतिनिधि सभाको अधिवेशनको पहिलो दिन नै विश्‍वासको मत लिने तयारी गरेका छन् । कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देउवाले आजै विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । 

यो सँगै देउवासँग कति सांसद छन् ? बहुमत पुग्छ कि पुग्दैन भन्ने चर्चा परिचर्चा सुरु भएको छ । अहिलेसम्म देउवासँग आफ्नो पार्टी नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका (सभामुख अग्निप्रसाद सापकोटाबाहेक) ४८ र राष्ट्रिय जनमोर्चाको एक सांसदको मत पाउने निश्चित छ । यो संख्या जोड्दा ११० हुन्छ । 


संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दाबी गरेर सर्वोच्च अदालतमा सशरीर उपस्थित हुँदा १४६ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसमा पार्टीभित्र विवादबीच नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ र जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समूहका १२ सांसदले हस्ताक्षर गरेका थिए ।
 
शनिबार बसेको जसपा यादव समूहको अनौपचारिक संसदीय दलको बैठकमा हस्ताक्षर गर्ने १२ सांसदबाहेक प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र रुही नाज सहभागी भएका थिए । भने सांसदद्वय राजकिशोर यादव र नरमाया ढकालले आउन सहमति जनाएका थिए । 

यादव समूहका नेता तथा प्रतिनिधि सभा सांसद महेन्द्र राययादवले आफूहरू सरकारमा जान तयारी गरिरहेकाले विश्वासको मत दिने बताए । ‘हामीले सरकारलाई सहयोग गरिरहेका छौं । सरकारमा जाने तयारी गर्ने दलले विश्वासको मत नदिने त कुरै छैन,’ राययादवले भने । 

उनले सर्वोच्च अदालतमा दाबी पेस गर्ने बेलामा भन्दा बढी सांसद हुने निश्चित रहेको तर यती नै भनेर अहिले भन्न नसकिने बताए । यदी त्यो संख्या सबैले विश्वासको मत दिएमा देउवाको पक्षमा १५२ पुग्छ । 

तर, एमालेको नेपाल समूहले मत दिन्छ कि दिँदैन निश्चित छैन । ‘संसद् पुगेपछि छलफल गरेर निर्णय गर्छौ, अहिले पक्ष विपक्ष के मा मत दिने भन्ने निर्णय भएको छैन,’ एमालेको नेपाल समूहका सांसद विरोध खतिवडाले इकागजसँग भने । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x