दल

'लुटेर खाने पुँजीवाद ठीक कि वैज्ञानिक समाजवाद ? प्रतिष्पर्धा गरौं न त !'

संसदवादी दललाई चुनावमा भिड्न चन्दको चुनौती

इकागज |
साउन ६, २०७८ बुधबार १९:२७ बजे

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूहरू चुनावबाट नभागेको बताएका छन् । उनले आफूहरू चुनावबाट डराएको नभइ पुँजीवादीहरू डराएको दाबी गरे । संसदीय व्यवस्था वा समाजवादी व्यवस्थाका विषयमा जनमत संग्रहको चुनाव लडेर देखाउनसमेत उनले चुनौती दिए । बुधबार काठमाडौंमा ‘रेड फ्रन्ट’ चौमासिक पत्रिकाको विमोचन कार्यक्रममा बोल्‍दै उनले जसरी पनि वैज्ञानिक समाजवाद ल्याएरै छोड्ने दाबी गरे । 

‘कतिपयले भन्नुहुन्छ, समाजवाद आउँछ र ? जनमत संग्रह होला र ? गर्न देलान् र ? यो दिने कुरा हो र ? यो त लिने कुरा हो,’ उनले भने, ‘तपाईं हामीले गल्लीगलीमा भन्नुपर्छ । घरघरमा भन्नुपर्छ । तिमीहरूले कम्युनिष्टलाई बन्दुके भन्ने, अधिनायकवादी भन्ने, आउन् त चुनावमा । हामी तयार छौं । यो लुटेर खाने पुँजीवाद ठीक कि जनताको समाजवाद ठीक ? चुनाव गरौं न त ।’ 


उनले २०३६ सालमा पञ्चायत र बहुदलका विषयमा जनमत संग्रह गरेको स्मरण गर्दै अहिले पूँजीवाद ठीक कि समाजवाद भन्ने विषयमा गर्न किन नहुने भन्दै प्रश्न गरे । जनमत संग्रह हुँदा कुनै पनि हालतमा पुजीँवादले जित्‍न नसक्ने उनले दाबी गरे । 

‘वाक्क भएर बाबुरामजी (भट्टराई)ले पनि अस्ती भन्दै हुनुहुन्थ्यो, ‘हामी नबिग्रेका त होइनौँ । बिग्रेकामा कम बिग्रेका हौं,’ उनले भने, ‘यो साचो कुरा त हो । बाबुरामजीले सही भन्नु भएको छ । जनमत संग्रह देऊ न त । नभए खोसेर ल्याउने हो । लड्ने हो युवाहरू चोकचोकमा । २०३६ सालमा जनमत संग्रह गर्न हुन्छ, आज गर्न हुँदैन ? पन्चायत ठीक कि बहुदल ठीक जनमत संग्रह गर्न हुने, आज पुँजीवाद ठीक कि समाजवाद ठीक भनेर जनमत संग्रह गर्न हुँदैन ? मिल्दैन ? मिल्छ नि । मिल्दैन भन्नेहरू लुटेरा हुन् । त्यो भन्नुपर्‍यो नि त । हरेक सत्ताले एउटा लुटेरा समूह बनाउँछ र यो नै अन्तिम सत्ता भन्छ ।’ 

बाँकी उनकै शब्दमा..
जनताबाट चुनिएर आउन हामीलाई कुनै डर छैन
हामी उच्च मनोबलका साथ आएका छौं । कसले हाल्छ यो लुटेरा पुँजीवादलाई भोट ? कसले हाल्छ यो संसदीय व्यवस्थालाई भोट ? यो देश बेचुवाहरूलाई भोट ? हामी जित्छौं । यो वैज्ञानिक समाजवाद नेपाल कम्युनिष्ट पार्टीको मात्रै एजेण्डा होइन । यो त हरेक नेपालीको एजेण्डा हो । जनताको व्यवस्था हो । नयाँ सभ्यताको जन्म दिने व्यवस्था हो । होइन भने सबैले किन समाजवाद भनेको ? कांग्रेस, कम्युनिष्ट सबैले समाजवाद भन्छ । कमल थापालजीले पनि समाजवाद भन्नु हुन्छ । ल प्रतिष्पर्धा गरौं न त । किन डराउने ? प्रतिस्‍पर्धा गर्न हामी डराएको कि पुँजीवादीहरू डराएको ? संसदवादी डराएको कि हामी डराएको ? विद्रोह गरेको डराएको हुन्छ ? त्यो त साहस गरेको हो । कहाँ डराएको हो ? हामीले त संसदवादसँग विद्रोह गरेको हो । यो पूरा हुन्छ । हामी पूरा गरेरै छोड्छौँ । पूरा नभए हामी विद्रोह गर्छौ । अगाडि बढ्छौँ । हामीलाई कुनै डर छैन । जनताबाट चुनिएर आउन हामीलाई कुनै डर छैन । समाजवाद ल्याइ छाड्ने हो । यो हाम्रो अधिकार हो । 

समाजवादका ठेली पढेर समाजवादविरुद्ध हतियार उठाउनेसँग हामी दब्छौं त ? 

समाजवादलाई बुद्धिजीवीको बीचबाट पनि हेरेका छौं । झुपडीमा बसेर समाजवाद पढेका छौँ । समाजवादका ठेली पढेर समाजवादविरुद्ध हतियार उठाउनेसँग हामी दब्छौं त ? आकाश आकाशमा नाचेर समाजवाद आउदैन । एउटा भोको किसानको समाजवाद, बेचिँदै गरेको युवासँग जोडेर समाजवाद हेर्न जरुरी छ । अब हुने भनेको एकीकृत जनक्रान्ति हो । हामी गर्छौ । किसान, मजदूर, विद्यार्थी, बुद्धिजीवी, प्रगतिशील, लोकतन्त्रवादीहरू यी सबलाई एकजुट गराएर क्रान्ति चाहिएको छ । हामी त्यो क्रान्ति गर्छौ । गर्ने भनेरै लागिराख्या छौँ । समाजवादी आदर्शबाट हामी किन्चित विचलित छैनौं र हुँदैनौं । जनताले खान पाउनुपर्‍यो । पेटमा त अन्न पर्नु पर्‍यो नी । चर्का कुरा गरेर के काम ? समान शिक्षा पढ्न पाउनुपर्‍यो । धनीका छोराले मासिक पचास हजार तिरेर पढिराख्या छन् । गरिबका छोराछोरीले क,ख.. पनि पढ्न नपाउने ? अहिले त नेपालमा त्यो छ नि । पुँजीवादीको ठेक्का हो आधुनिक शिक्षा पढ्ने ? यी सबलाई लखेट्नुपर्छ । 

हामीले गरिरहेका छौं । हामी खनिरहेका छौँ । हामीलाई विश्वास छ हाम्रो हातमा सत्ता आयो भने दुई चार वर्षमा उलटपुलट पार्छौ । हाम्रा युवाहरूले एक पैसा नलिएर काम गरिरहेका छन् । हाम्रो युवाहरूले बन्दुकसँग पनि लडे । हामी भन्छौ खरानी भइन्छ तर, झुकिँदैन । यो बनावटी कुरा होइन। सत्य कुरा यही हो । भोको पेट भर्ने समाजवाद चाहिएको हो । स्वास्थ्य सेवा पाउने, शिक्षा लिन पाउने समाजवाद चाहियो । विदेशीले पार्टी मिलाइ दिने र छुटाइदिने होइन, सरकार बनाउने र ढलाउने समाजवाद होइन । हाम्रा आफ्नै निर्णय चल्ने समाजवाद चाहिँयो । 

पुँजीवादप्रति पुँजीपतिहरू नै सन्तुष्ट छैनन् । पुँजीवादले काम चल्दैन। यसका सबै पक्ष अस्वीकार गर्नु पर्छ भन्‍ने होइन । देशमा केही मान्छेसँग यति धेरै धन थुप्रिएको छ । त्यो आवस्यक हो कि होइन ? छलफल त गर्न पाउनुपर्‍यो नि ! दलाल पुँजीवाद नै नेपाली जनताको दुर्दशा हो । एकता गर्दा गर्दा, फुटाउदा, सरकार बनाउदा वा ढलाउदा पनि विदेशी चाहिने ? यो राजनीतिक दलालीकरणको भद्दा रूप हो ।


Author

थप समाचार
x