दल

नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो

एउटै मञ्‍चमा ६ पार्टीका नेता : जनताले कम्युनिष्ट र गैरकम्युनिष्टलाई कसरी छुट्याउने ?

इकागज |
साउन ८, २०७८ १७:४४ बजे

काठमाडौँ - आज(शुक्रबार) संसदवादी र संसदबाहिरका कम्युनिष्ट नेताहरू तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा भेला भए । सन्दर्भ थियो पुष्पलालको ४३औँ स्मृति दिवस । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली देखिएनन् । ओलीबाहेकका अधिकांश नेपाली कम्युनिष्ट पार्टीका नेता/प्रतिनिधि उपस्थित थिए ।


ADVERTISEMENT

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दलाई पनि बोलाइएको थियो । तर, उनीहरू उपस्थित थिएनन् । कार्यक्रमको मध्यसम्म पनि सञ्चालकले माओवादी अध्यक्ष दाहाल पनि आउने उद्घोष गरिरहेको थिए । तर, दाहाल आएनन् । अन्तिममा दाहालले प्रतिनिधि खटाएछन् । माओवादी स्थायी समिति सदस्य गणेश शाह उपस्थित भए ।

चन्द नआए पनि चन्द नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला उपस्थित थिए । उनीहरूबाहेक एमाले नेता माधवकुमार नेपाल, नेतृ अष्टलक्ष्मी शाक्य, नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यलगायतले प्रवचन दिए । विषय थियो, ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ । पुष्पलालको स्मृति सभा भएकोले वक्ताहरूले धेरथोर उनको चर्चा पनि गरे । अनि विषयमा केन्द्रित भएर नेताहरूले आफ्ना धारणा राखे । कम्युनिष्ट एकतामा जोड दिए । कम्युनिष्ट विग्रिनुको कारण बताए र समाधानको बाटो देखाए । 

कसले के भने ?

युवा साथीहरूलाई किन बाँदर बनाएर सडकमा पठाइयो ?: अष्टलक्ष्मी शाक्य


कस्तो संस्कार हामीले हुर्कायौं । एउटा कम्युनिस्ट पार्टीको निर्णय र नेतृत्वबाट आएका युवाहरू देशका लागि केही गर्न चाहन्थे ? अध्ययनशील, सिर्जनात्मक थिए । तर, बाँदरको रूप बनाएर सडकमा पर्छाने काम किन भयो ? गलत नेतृत्वबाट यस्तो भइराखेको छ । यस्तो खालका संस्कार हुन्छ । युवा साथीहरू देशका लागि काम गरौं । सिर्जना र क्षमता प्रयोग गरौं । 
दुई तिहाई बहुमत ल्याएको कम्युनिष्ट पार्टी आज कसरी र कहाँ पुग्यो रूपमा समीक्षा गर्नुपर्छ । नेपालमा बलियो कम्युनिष्ट पार्टीको अझै आवश्यकता छ । सिंगो बामपन्थी आन्दोलन अगाडि बढोस् । एक होस् । 

सत्ता र शक्ति भए जे पनि गर्ने ?: चन्द्रदेव जोशी 

पुष्पलालजीलाई सँधै आफ्नै साथीले धोका दिए । पुष्पकमल दाहाल होस् कि चित्रबहादुर केसी । उहाँको साथमा पार्टी थियो, छ । संकट के हो ? एमालेमा देखिएको मात्रै संकट हो ? अथवा कम्युनिष्ट आन्दोलनको संकट हो । यो सिंगो कम्युनिष्टको संकट हो । वैचारिक संकट हो । नैतिकताको संकटमा छ सिंगो कम्युनिष्ट आन्दोलन । सुरुवातको जड कहाँनिर हो ? कम्युनिष्टको सदस्य हुन न्यूनतम आधार छैन । सत्ता, शक्ति भए जे पनि गर्ने ? आफू मात्रै कसरी अगाडि बढ्ने भन्ने छ । संकटको जड त्यही छ । 

यो भ्रष्टाचारी व्यवस्था होः धमेन्द्र बास्तोला 

संकट के भनेर छलफल गर्नै पर्दैन । नेपालको राजनीतिमा देखापरिहेको शंकट बास्तवमा कम्युनिष्टहरूको शंकट हो । कम्युनिष्ट आन्दोलनमा देखा परेको शंकटको कारणले नेपाली राजनीतिमा शंकट देखापरेको छ । सब समस्या राजनीतिबाट पैदा भएको छ । हामीले सबैसँग छलफल गर्‍यौँ । सबैको चिन्ता एउटै छ । यो किन भयो ? एकले अर्कोलाई आरोप लगाउने काम भइरहेको छ । संसदीय व्यवस्थाको कारण यस्तो भयो । यो भ्रष्टाचारी व्यवस्था हो । यो व्यवस्थाभित्र भ्रष्टाचार गर्नू भएन भने फालिनुहुन्छ । दूधबाट झिँगा फालिएजस्तै हुनहुन्छ । चित्रबहादुर केसी फालिनु भयो । यहाँ म बन्ने हो । देश बन्दैन । सत्ता र शक्तिका कारण पार्टी फुट र विभाजित भएका छन् । सबैले भ्रष्टाचार गर्छ कसले कारबाही गर्ने ? यहाँ कसले कारबाही गर्ने ? दलाल पुँजीवादी व्यवस्थामा प्रधानमन्त्री निर्वाचित हुँदैन, मनोनित हुन्छ । यो व्यवस्था नै यस्तै हो । नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्यप्रणाली गएन, नेपालको शासन दलाल पूँजिपतिहरूको हातमा गयो । हिजो सामन्तवर्गको हातमा थियो । आज दलाल पूँजिपति वर्गको हातमा छ । नयाँ एकता कायम गरौं । नयाँ कम्युनिष्ट पार्टी निर्माण गरौं । 

राणा र राजा फाल्यौँ, हामी बदलिएनौँः चित्रबहादुर केसी

यो संकट नेपालमा मात्रै देखा परेको होइन । विश्वमै कम्युनिष्ट आन्दोलनमा संकट छ । कम्युनिष्ट आन्दोलन विसर्जनवादतिर र दक्षिणपन्थी बाटो समातिर गयो । राणा फाल्यौ, राजा फाल्यौ, हामीले आफूलाई बदलेनौँ । हामी अगुवा हौं । हामीलाई हेर्नुपर्यो नि । हाम्रो दर्शन र विचारले हामीलाई छोयो कि छोएन ? जसले आफैलाई बदल्न सकेन यसले देश कसरी बदल्छ ? जनताले कम्युनिष्टलाई दुई तिहाइ करिब मत त दिएकै हुन् त । तर, तीन वर्षमा केके गर्यौँ । भाषणले मात्रै पुग्छ ? नेपाली जनताले कम्युनिष्ट र गैरकम्युनिष्टलाई कसरी छुट्याउने ? पहिले कम्युनिष्टलाई नै छुट्याउन जरुरी छ । हाम्रो अवस्था फेरियो । तर, हामीलाई विश्वास गर्नेको के फेरियो ? तीनको अवस्था फेर्ने सक्यौं कि सकेनौँ । हामीले के गर्यौँ ? जनतामा आस्था र विश्वास छ । पहिले आफू बन्ने, वरिपरिका र नातागोता बनाउने । राजनीति गर्न जोगी गर्न हो र ? भन्छन् । त्यो भनेको के हो ? कम्युनिष्ट भनिरहने निजी सम्पत्ति कमाइरहने ? काम जे पनि गर्ने नामचाहिँ कम्युनिष्ट राख्ने ? यो विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको संकट हो । यसलाई समाधान गर्न सकिन्छ । कम्युनिष्ट अहिले फेसन भएको छ । 

सरकारमा भएका कम्युनिष्टले सडकमा भएकालाई दमन गर्नु भएनः मोहन वैद्य

अहिलेसम्मका आन्दोलन यही संसदीय व्यवस्था ल्याउन भएको हो ? जनताले रगत बगाएको हो ? ज्यान दिएको हो ? हिजो पनि त्यही वर्ग सत्तामा आज पनि उही ?
नेपाली कम्युनिष्ट आन्दोलनमा तीन वटा धार छन् । एउटा धार  संशोेधनवादी या संसदवादी धार छ । दोस्रो क्रान्तिकारी धार छ । तेस्रो मध्यवादी धार छ । जुन जता भने उतै जान्छ । 
एमाले किन विभाजन भयो ? जनतन्त्रका समस्या समाधान भएको खोइ ? सरकारलाई फेरिनु र मान्छे फेरिनु क्रान्ति हो ? हामी किन एक हुन सकेनौँ ? दोस्रो फरक भनेको व्यक्तिगत अहमता । नेता र नेतृत्वको अहमताले ठूलो काम गररहेको छ । टाढा जानु पर्दैन, डबल नेकपा हेरे हुन्छ । प्रचण्ड कमरेड सायद विसन्चो भयो क्या आउनु भएन । कुरा ठूल्ठूला गर्नु हुन्छ । सिद्धान्तमा के फरक छ ? फरक कहाँ हो ? सिद्धान्तमा फरक छैन । पद्धतीमा फरक होला । ओलीजीको पद्धति भनेको स्वेच्छाचारी पद्धति रहेछ । तानाशाही पद्धति रहेछ । ओलीजी एकदम मभन्दा बाहेक दुनियामा कोही छैन भन्ने छ । पानी जहाज रेल कहाँ गए ? त्यही वुद्धिले आउँछ रेल ?

अब के गर्ने ? 
संसदलाई बचाएर राखेपछि सबै कम्युनिष्ट मिलेर चुनाव लड्ने केही साथीहरूको छ । तर त्यसरी हुँदैन । हामी त मान्दैनौं । धेरै कम्युनिष्ट पार्टी हुनु ठीक भएन । संसदवादी किन दुई तीन कम्युनिष्ट बनाउने ? सबै मिले हुन्छ । संसदवादीधार सबै मिले हुन्छ । मिल्नुस् । क्रान्तिकारी धार कमजोर छ । क्रान्तकारीहरू पनि मिल्नुपर्छ ।

मेरो प्रस्ताव के हो भने सरकार र संसदमा जाने कम्युनिष्टले एउटा काम गर्नुपर्यो । सडकमा हुनेले अर्को काम गर्नुपर्यो । तीन दुईटाले तालमेल गर्नुपर्यो । सरकारमा भएकाले सडकमा भएकालाई दमन गर्नु भएन । सडकबाट पनि संघर्ष गरौं । सरकारमा जानेले पनि काम गरौं । कति पटक प्रधानमनत्री हुने हो के ? त्यो छोड्नुस् । देश र जनताको निम्ति मैदानमा आउनुस् । अनि पार्टी बन्छ । 

सरकार चाहिँ कम्युष्टिको,  हाली मुहाली चाँहि दलाल पुँजीपतिको ?: गणेश शाह 

कम्युनिष्ट र मजदुरका विषयवस्तु अगाडि आएन् । पार्टी, संसद र सरकार चाहिँ कम्युष्टिको,  हाली मुहाली चाँहि दलाल पुँजीपतिको ? प्रचण्ड, माधवलगायत नेतालाई  संकट टार्ने दिनरात भाषण गर्दै फुर्सद छैन । त्यसैले प्रतिष्ठानहरूले नै कम्युनिष्ट आन्दोलनबारे विश्लेषण गर्नुपर्ने ? कम्युनिष्टबिचमा वाममोर्चाको आवश्यकता छ । कम्युनिष्टको नाममा ओलीको तानशाही प्रवृद्धि छ । म नै राज्य भन्ने को विरुद्धमा, संविधानविरोधीको विरुद्धमा एक हुन जरुरी छ । चुनावमा जाँदा वर्गीकरण, हाम्रो दृष्टिकोण , श्रमजीवी वर्गका लागि एकता गर्नपर्छ । 

एकोहोरो गीतमात्रै गाए जनताले पत्याउदैनन्ः माधव कुमार नेपाल

 

विश्वमा कम्युनिष्ट आन्दोलनले अनेक उकाली ओराली गरिरहेको छ ।  जनताबाट टाढा राजनीती जान सक्दैन । बौद्धिक बहस मात्रै होइन । हरेक समाजवादी मुलक हराए । कम्युनिष्ट पार्टी विलाए । जनता राजनीतीको केँन्द्रविन्दु हुनुपर्छ । जनतालाई सुन । शासकलाई मात्र होइन । एकोहोरो गीत गाए जनताले पत्याउदैनन् । जताततै कम्युनिष्ट पार्टी छन् । कोही सुन्दैनन् । हाम्रो कर्तव्य के ? चिन्नुपर्छ । जनतासँग जोडिएर मन जित्नु पर्छ । जनताले बुझ्ने भाषा बोल्नुपर्छ । जनवाद हैन, प्रजातन्त्र भन्नुपर्छ । जनताले बुझ्ने भाषा प्रजातन्त्र भएर हामी त्यो बोलेको । जनताले अझै कम्युनिष्ट मन पराउँछन् । हामीले बाटो बिराउनुहुँदैन । जनताको विश्वास राख्नुपर्छ ।


 



Author

थप समाचार