दल

सत्ता गठबन्धन मन्त्रालय भागवण्डा, खोप र एमसीसीबारे परामर्शमा

राजनीतिक दलसम्बन्धी ऐन संशोधनबारे शीर्ष बैठकमा छलफल

इकागज |
साउन १०, २०७८ आइतबार ७:१३ बजे

काठमाडौँ - आफ्नै दल भित्र मन्त्री छान्न असहज अनुभूती गरेका सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेका छन् । शनिबार साँझ बालुवाटारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित सहभागी  बैठकमा सरकारलाई प्रभावकारी रूमा अघि बढाउने विषयमा परामर्श भएको हो । 

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकार अघि बढ्नु पर्ने निष्कर्ष निकालेको छ । यसअघिको केपी शर्मा औली नेतृत्वको सरकारले गरेको जथाभावी निर्णयलाई ट्रयाक वा लिकमा ल्याए मात्र पनि सरकार सफल हुने निस्कर्ष गठबन्धनको छ । ओली नेतृत्व सरकारले संवैधानिक नियुक्तिलगायतका महत्वपूर्ण विषयमा जथाभावी गरेको भन्दै गठबन्धन दरिलो तरिकाले अघि बढाउनु पर्ने धारणा सबै नेताहरूले बैठकमा राखेका थिए ।  


सरकारलाई सफल बनाँउन गठबन्धनलाई अझै प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा छलफल भएको थियो । तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने र फुल स्विङमा काम अघि बढाउने विषयमा छलफल भएको एक सहभागीले बताए । यो गठबन्धन फुटाउन र कम्युनिस्टहरूलाई एक बनाउने खेल चलिरहँदा यो प्रकारको छलफल हुनुलाई प्रधानमन्त्री देउवाले सकारात्मक भनेको बलुवाटार स्रोतले बतायो ।

शनिबार बिहान नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवस कार्यक्रममा माओवादी अध्यक्ष पुष्प कमल दहालले गठबन्धन फुटाउने देशी विदेशी शक्ति सक्रिय भएको सन्देश दिएका थिए । ‘गठबन्धन असफल पार्न त्यसको कमजोर पक्ष खोजी भएको छ । अर्थात छिद्राहरू खोजेका छन भन्दै दाहालले त्यहाँ भनेका थिए, ‘यो गठबन्धन बलियो ढंगले अघि बढ्ने छ ।’

दाहालले शनिबार बिहानै देउवासँग टेलिफोनमा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग घरमै पुगेर छलफल गरेका थिए । उनै दाहालको पहलमा साँझ बालुवाटारमा बैठक बसेको हो । बैठकमा एमाले नेता नेपाल पनि सहभागी भएका थिए । दोस्रो तहका नेताहरूले एमाले मिलाउन पहल गरिरहेको अवस्थामा नेपाल बैठकमा सहभागी भएका हुन् ।

उनी देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक पाँच दलीय गठबन्धको बैठकमा सहभागी भएका हुन् । बालुवाटार बैठकमा अधिक नेपालीले छिट्टै खोप लगाउन पाउन भन्‍ने धारणा सबैको थियो । नागरिकसँग जोडिएका सबै काममा सरकार चनाखो बनेर सम्बोधन गर्दै जाने निर्णय पनि भएको छ । खोपका लागि अनुदानको मात्रै नभए किनेर ल्याएर भए पनि सरकारले त्यसमा काम गर्न आवश्यक रहेको उनीहरूले सुझाए । काम भन्दा गफ अधिक गरेको पूर्ववर्ती सरकार नागरिकप्रति उत्तरदायी नदेखिएकाले यो काममा वर्तमान सरकारले निकै बलियो ढंगले लाग्‍न पर्ने सुझाव नेताहरूको थियो । 

गठबन्धनमा अमेरिकी सहयोग एमसीसीको वर्तमान अवस्था र पारित गर्ने विषय लगायतमा पनि छलफल भएको थियो । यसमा केही बुँदा संशोधन गर्न माओवादीको सुझाव छ भने जस्ताको तस्तै पारित गर्दा पनि केही नबिग्रने परराष्ट्र र अर्थ मन्त्रालयको सुझाव छ । त्यसमै अडेर देउवाले खराव के मा छ भन्दै यसलाई कार्यावन्यनमा लैजान पर्नेमा बताएका थिए ।

गठबन्धनमा रहेको एमालको नेपाल समूहले साउन ३ मा देउवालाई विश्वासको मत दिएको थियो तर पनि नेपाललाई एमालेमा फर्काउन उनकै पक्षका र ओली पक्षका नेताहरूले लगातार प्रयास गरिरहेका छन् । हुनत नेपाल बालुवाटार छिरे पनि भंग भएका कार्यदलका नेताहरूले पार्टी एकतालाई अन्तिम चरणमा पुर्‍याएको बताउँदै आएका छन् ।

छलफलमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल, एमाले वरिष्ठ नेता नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी सहभागी थिए । बैठकमा लामो छलफल भने मन्त्रीमण्डल विस्तार र मन्त्रालयको भागवण्डामा भएको थियो । त्यही भागवण्डाको कुरा हुँदा नेपालको उपस्थिति आफैमा अर्थपूर्ण छ । राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने विषयमा पनि छलफल भएको छ । त्यो विषय ‘र’ को स्थानमा संशोधन गर्दै ‘वा’ राख्‍ने वित्तिकै एमाले फुट्ने निश्चित छ ।

त्यो विषयमा पनि छलफल भएको एक नेताले जानकारी दिए । संसद् अधिवेशन चलिरहेको अवस्थामा त्यो विषय उठाउँदै नयाँ ढंगले जाने प्रयास गर्नु आफैमा अर्थपूर्ण छ । 


Author

थप समाचार
x