दल

माओवादी बैठक

प्रदेश प्रमुख सिफारिस, कानुनी विषयमा छलफलै भएन

इकागज |
साउन १२, २०७८ मंगलबार १७:२२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । यसअघि पनि सोही प्रदेशका प्रदेश प्रमख रहेको शेरचनलाई संविधानविपरीत माओवादीले प्रदेश प्रमुख बनाउन सिफारिस गरेको हो । संविधानको धारा १६३को उपधारा (४)मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन नसक्ने उल्लेख छ । 

यस विषयमा माअ‍ोवादी स्थायी समिति सदस्य नै अनविज्ञ देखिए । स्थायी समिति सदस्य देव गुरुङले संवैधानिक व्यवस्थाबारे बैठकमा छलफल नभएको बताए । उनले प्रधानमन्त्रीको अनुरोधमा आफूहरूले सुझावमात्रै दिएको दाबी गरे । ‘स्थायी समितिको त सुझाव मात्रै न हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सल्लाहा मागेअनुसार हामीले गरेको हो । कानुनी विषयमा केही छलफल भएको छैन ।’ 


त्यस्तै अर्का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले पनि संवैधानिक व्यवस्थाका विषयमा बैठकमा छलफल नभएको बताउँदै कानुनी कुरा मन्त्रिपरिषदले हेर्ने तर्क गरे । यसअघि प्रदेश प्रमुखबाट हटाइएकोले पुनः सिफारिस गरिएको उनको तर्क छ । ‘उहाँलाई हटाइएको न हो । कानुनी विषयमा छलफल भएको छैन,’ उनले भने, ‘पहिले हटाइएको हुनाले उहाँहरूलाई सम्मानपूर्ण हिसाबले सिफारिस गर्ने कुरा भएको हो ।’

यो पनि
संविधानविपरीत प्रदेश प्रमुख बनाउन माओवादीको सिफारिस


Author

थप समाचार
x