दल

गठबन्धन बैठकमा चित्रबहादुर केसीले के-के भने ?

इकागज |
साउन १३, २०७८ बुधबार १२:५० बजे

काठमाडौँ- बुधबार पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । करिब दुई घण्टा बसेको बैठकमा विविध विषयमा छलफल भयो । बैठकले मन्त्रिपरिषद् विस्तारबारे निर्णय हुने अपेक्षा थियो । तर, त्यो हुन सकेन । बरु शक्ति सन्तुलन र मन्त्रालय बाडफाँटको जिम्मेवारी शीर्ष नेताहरूलाई दिने सहमति भयो । 

केसीको फरक मत !


राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने भएको छ । गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने भन्दै जनमोर्चा सरकारमा सहभागी नहुने भएको हो । बुधबारको बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को प्रसंग उठाए । कोभिडका कारण जनता खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेका बेला गठबन्धन सरकार एमसीसीलाई अघि बढाउने ध्याउन्‍नमा लागेको भन्दै उनले विरोध जनाएका हुन् । 

‘गठबन्धनका साझा मुद्दामा हाम्रो समर्थन हुन्छ । एमसीसी आयो भने विरोध हुन्छ । अध्यक्षज्यूले भन्‍नु भएको पनि त्यही हो,’ बैठकमासमेत सहभागी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘संघीयताको विषय आउँदा विरोध हुन्छ । नीति र कार्यक्रम हरेर विरोध गर्ने भन्‍नु भएको हो ।’

उनले गठबन्धनबाट बाहिरिनेबारे भने केसीले कुरै नगरेको बताइन् । गठबन्धनमै रहेर गुण र दोषका आधारमा समर्थन र विरोध हुने बताएको उनको भनाइ छ । ‘हामी सरकारमा नजाने भनेको पनि त्यही भएर हो,’ उनले भनिन्, ‘त्यो गठबन्धनमै रहेर गर्ने भन्‍न खोज्‍नु भएको हो ।’


Author

थप समाचार
x