दल

सरकारलाई चाँडो पूर्णता दिनुपर्छ : डा. रामशरण महत

'भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भयो'

इकागज |
साउन २१, २०७८ बिहीबार १८:५ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । काठमाडौँमा गरेको साक्षात्कारमा उनले सरकार गठन भएको लामो समयसम्म पनि पूर्णता पाउन नसक्नु गलत भएको बताए । वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरू सच्याउनुपर्ने उनको भनाइ छ ।  

त्यस्तै सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्नेमा उनले जोड दिए । यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ पूर्ण बजेट ल्याइनुपर्ने महतको भनाइ छ । महतले राजनीतिक नियुक्ति गर्दा पनि योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताए ।


डा. महतले भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको पनि बताए । अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुँगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाइ छ । तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको उनले जानकारी दिए । महतले  कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले आन्तरिक जीवन सधैं सुदृढ गर्नुपर्ने  जिकिर गरे ।


Author

थप समाचार
x