दल

प्रदेश-१ र बागमतीमा पनि एमालेको बहुमत गुम्‍ने निश्‍चित

पार्टीमा विग्रहसँगै संघीयसहित बागमती र लुम्बिनी प्रदेशमा एमालेले सत्ता गुमाइसकेकाे छ

मधुसुधन भट्टराई |
भदौ २, २०७८ बुधबार १९:२१ बजे

काठमाडौँ - वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले (समाजवादी) पार्टी बनाएपछि बाँकी रहेका नेकपा एमालेका प्रदेश–१ र बागमती प्रदेश सरकारमा पनि बहुमत गुम्‍ने निश्चित भएको छ ।

बागमती प्रदेशमा सत्ता बचाउन ओलीले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर नेता नेपाल समूहकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएका छन् । आजै बसेको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई दलको नेता चुनेको छ । तर शाक्यलाई आफूतर्फ ल्याए पनि सरकार भने नरहने निश्चित छ । 


बागमती प्रदेश सभामा १०९ सदस्य छन् । त्यसमध्य एमालेका ५६ सांसद छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा ‘छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा दल त्याग गरेको मानिने छैन, भन्ने उल्लेख छ ।  

उनीहरूले २१ दिनभित्र एमाले वा एमाले (समाजवादी) मध्य एक रोज्नु पर्नेछ । बागमती प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ । एमालेको सिंगो सांसद संख्या ५६ छ । दुई सांसदमात्रै नेपालको पार्टीमा गए पनि एमालेको बहुमत गुम्छ । तर अहिले प्रारम्भीक तथ्यांकमा पनि २२ सांसद नेपालको पक्षमा रहेको नेपाल समूहका नेताहरू बताउँछन् । यी सांसदले ओली रोज्छन् कि नेपाल भन्ने २१ दिन पछि मात्रै खुल्नेछ । 

प्रदेश-१ मा मुख्यमन्त्री शेरधन राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी छ । मुख्यमन्त्री बन्ने लोभमा आचार्यले नेपाललाई छोडेका छन् । तर, त्यहाँ पनि बहुमत गुम्‍ने निश्चित भएको छ । 

प्रदेश-१ मा सांसद संख्या ९२ छ । त्यसमा एमालेका सांसदको संख्या ५१ छ । यो पनि एमालेको एकल बहुमत हो । बहुमत रहन एमाले ४७ सांसद चाहिन्छ । नेपाल समूहलाई ५ सांसदले रोजे भने मात्रै पनि एमालेको बहुमत गुम्छ । तर, प्रारम्भीक तत्यांक अनुसार नेपाल समूहमा १५ सांसद रहेका सो समूहका नेताहरूले दाबी गरेका छन् ।  यी सांसदले ओली रोज्छन् कि नेपाल भने २१ दिनपछि मात्रै खुल्नेछ ।

पार्टी विवादका कारण संघ र दुई प्रदेश सरकार गुमाइसक्यो 

पार्टीभित्रको विवादले एमालेले यसअघि संघीय सरकार र दुई प्रदेशका सरकार गुमाइसकेको छ । संघमा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रको विवादका कारण प्रधानमन्त्रीबाट २८ गते बाहिरिएका थिए । 

त्यस्तै गण्डकी प्रदेशबाट पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीबाट शंकर पोखरेल पनि पार्टी विवादका कारण मुख्यमन्त्रीबाट बाहिरिएका छन् । 

कुनैबेला संघसहित चार प्रदेशमा सरकारको नेतृत्व एमालेको थियो । संघ र दुई प्रदेशको नेतृत्व गुमाएको एमाले बाँकी रहेका दुई प्रदेशको नेतृत्व पनि गुमाउने अवस्थामा पुगेको हो । 
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x