दल

नेपाल र ठाकुरले पार्टी दर्ताका लागि फेरि‍ निवेदन दिनुपर्ने

इकागज |
भदौ ३, २०७८ बिहीबार १८:३४ बजे

काठमाडौँ - नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दल दर्ताका लागि निवेदन दिएका नेताहरूले पुनः राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम पाँचमा संशोधन भएपछि बन्ने कार्यविधि अनुरुप निवेदन दिनुपर्ने भएको छ । निर्वाचन आयोगले कार्यविधि अनुरुप निवेदन दिएपछि मात्रै दर्ता प्रक्रिया सुरु हुने जनाएको छ । 

बुधबार पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दल दर्ताका लागि निवेदन दिएका थिए । 


अब पुनः आयोगको फरम्याटमा निवेदन दिएपछि दर्ता प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारमात्रै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् । 

अध्यादेश जारी भएपछि आयोगले आज अध्यादेश अनुरुप राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम पाँच संशोधन गरेको छ । प्रमुख आयुक्त थपलियाले नियमावली अध्यादेश अनुरुप संशोधन गरेर सम्पादनका लागि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइसकेको जानकारी दिए । 

कानुनले आवश्यक सम्पादनपछि राजपत्रमा सूचना प्रकाशन गर्नेछ । त्यसपछि त्यसैअनुरुप बन्ने कार्यविधिमा नयाँ दल दर्ताका लागि कसरी निवेदन दिने उल्लेख हुने प्रमुख आयुक्त थपलियाले जानकारी दिए । त्यही ढाँचामा नयाँ दल दर्ताका लागि निवेदन दिएकाहरूले निवेदन दिएपछि मात्रै दर्ता प्रक्रिया सुरु हुने उनको भनाइ छ । 

कानुन अनुसार त्यो प्रक्रिया पूरा हुन ४५ दिन लाग्छ । तर आयोगले सकभर छिटो टुंग्याउने प्रयास गर्ने थपलियाले बताए । 

कार्यविधि अनुरुपको आधिकारिक निवेदन दिइसकेपछि आयोगले दल दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा १० विषय हेर्नेछ । दल दर्तासम्बन्धी कानुनले विधान, घोषणापत्र, केन्द्रीय समितिका सदस्यहरू, पहिलेका पार्टी र अहिलेका पार्टीमा कति प्रतिशत आए, सांसद कति छन्लगायतका विषय आयोगले हेर्न उनले जानकारी दिए । 

त्यो बाहेक सातै प्रदेशमा रहेका प्रदेश समितिको ठोगाना, प्रत्येक समितिमा ३३ प्रतिशत महिला छन कि छैनन् भन्ने हेरेपछि सनाखत गर्ने आयोगले जनाएको छ । त्यसपछि केही सच्याउन पर्ने भएमा सच्याउन सात दिनको समय दिने र सच्याउन पर्ने नभएमा सबै कागजात हेरेर प्रक्रिया पुगेको भए सनाखतका लागि बोलाउने आयोगले जनाएको छ । एमाले (समाजवादी)ले राखेको निर्वाचन चिन्ह खुला किताव अर्कै दलको नाममा रहेको सार्वजनिक भइसकेको छ । 
 


Author

थप समाचार
x