दल

हिसिलालाई मन्त्री चाहिएपछि जसपामा लफडा

इकागज |
भदौ ५, २०७८ शनिवार २०:३४ बजे

काठमाडौँ - सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)मा मन्त्री बनाउने विषयमा विवाद भएको छ । मुख्यगरी संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो समूहबाट पत्नी हिसिला यमी वा गंगानारायण श्रेष्ठमध्य एक जनालाई मन्त्री बनाउन दबाब दिएपछि विवाद भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धन सरकारमा पहिल्यै दलहरूबीच सांसद नभएका व्यक्तिलाई पहिलो चरणमा मन्त्री नबनाउने सैद्धान्तिक सहमति बनेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको नाम सिफारिस गर्दा सांसदलाई मात्र सिफारिस गर्न र सांसद नभएकालाई अन्य नियुक्तिमा मिलाउन भनिसकेका छन् । 


तर, पार्टीमा भने डा. भट्टराईले जसरी भए पनि आफ्नो समूहबाट एक मन्त्री बनाउन भनेकाले अध्यक्ष उपेन्द्र यादव अफ्टेरोमा परेका छन् । ‘उता प्रधानमन्त्रीले सांसद नभएकालाई मन्त्रीमा सिफारिस नगर्न जति पटक भेट्यो, त्यति पटक सम्झाएको सम्झायै हुनुहुन्छ । यता पार्टीमा भने गैरसांसदलाई मन्त्री बनाउन दबाब छ, के गर्ने ?,’ अध्यक्ष यादवले निकटका नेताहरूसँग भन्ने गरेका छन् । 

अहिलेको जसपामा डा.भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको मधेशी जनाधिकार फोरमको पार्टी गरेर दुई धार छन् । अहिले प्रतिनिधि सभामा डा. भट्टराई बाहेक यादव समूहका मात्रै सांसद छन् डा.भट्टराई प्रधानमन्त्री भइसकेकाले मन्त्री बन्न नमिल्ने भएकाले अन्य नेतालाई सरकारमा पठाएर निर्वाचनसम्म आफ्नो पक्षमा पनि माहोल बनाउन चाहन्छन् । उनले पठाउन चाहेका नेता सांसद छैनन् । 

सरकारमा आफूले चाहेका नेता पठाउन नमिल्ने भएपछि डा. भट्टराईले अघोषित रूपमा अध्यक्ष यादवलाई सरकारमा पार्टीबाट नेतृत्व गरेर पठाउन नदिन चाहिरेका छन् । त्यसका लागि उनले अनेकन हतकण्डा गर्न खोजिरहेका छन् । त्यो भदौ एक र दुई गतेको बैठकमा पनि देखाए । 

बैठकमा राखिएको बस्ने सोफाका विषयलाई लिएर डा. भट्टराई निकटस्थहरूले नाराबाजीसमेत गरे । बैठकमा संघीय परिषद् अध्यक्ष डा. भट्टराई, अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवलाई अगाडि राख्ने सहमति नेताहरूबीच भएको थियो । त्यही अनुुसार सिटको व्यवस्थापन गर्न भनेकामा दुई सोफा दुई/दुई जना बस्ने र बीचमा एक सोफा एक जना बस्ने रेष्टुरेन्टले बनाएपछि अध्यक्ष यादवले आफूलाई छुट्टै सिट बनाएको भनेर लफडा झिकेका निकटस्थ नेताहरू बताउँछन् ।

डा. भट्टराई निकटका केही नेता पनि यो लफडा नगर्न सुझाएका तर हिसिला र गंगानारायणको जोडबलमा लफडा गरिएको स्रोत बताउँछ । सिट व्यवस्थापनको विषयलाई लिएर बैठकको पहिलो दिन डा. भट्टराई पुत्री मानुषी, ज्वाई डेकेन्द्र श्रेष्ठ, पार्टीको युवा संगठनको सचिव मञ्जु तामाङ, उपाध्यक्ष दिपक महतोलगायत आफूलाई छुट्टै उपेन्द्र यादव मुर्दावाद भनेर नाराबाजीसमेत गरेका थिए ।

‘आफूलाई फरक देखाउन उपेन्द्रले यस्तो बनाएको हो,’ डा. भट्टराईले सुन्नेगरी नाराबाजी गरेको बैठकमा सहभागी एक सदस्यले भने । बैठक सकिएपछि पनि डा. भट्टराई आफू नदेखिएर पत्‍नी हिसिलालाई मन्त्री बनाउन दबाब दिइरहेका छन् । तर यादवले सोध्दा भने म तपाईलाई सपोर्ट गर्छु भन्ने गरेका छन् । 

हिसिला मन्त्री नबन्ने भएपछि अन्य नेताहरूलाई उकासेर अध्यक्ष यादवलाई रोकेर अन्य नेतालाई नेतृत्व गरेर पठाउने लविइङमा यमी र श्रेष्ठ लागेको दावी नेताहरूकै छ । उनीहरूले महेन्द्र राययादव र राजेन्द्र श्रेष्ठलाई उकासेर तपाइहरू पनि उपप्रधानमन्त्री बन्‍न सक्नुहुन्छ भनेर उकासीरहेका छन् । 
 


Author

थप समाचार
x