दल

ओलीले कु गर्न खोजे, महन्थ-राजेन्द्रहरू प्रतिगमनको मतियार बने: उपेन्द्र यादव

इकागज |
भदौ १३, २०७८ आइतबार ६:३९ बजे

वीरगञ्ज - जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खड्गप्रसाद ओलीले कु गर्न खोजेको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतो प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् । जसपाले शनिबार वीरगञ्जमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओलीको कुलाई ठाकुर–महतोले साथ दिएर ओलीको कित्तामा गएर सहयोग गरेको बताए ।

‘ओलीले कु गर्न खोजेका थिए । प्रतिगमन गर्न खोजेका थिए’, उनले भने, ‘महन्थ ठाकुर र राजेन्द्र महतोहरू केपी ओलीको मतियार बनेर ओलीकै कित्तामा गएर सहयोग गरे ।’अध्यक्ष यादवले भने, ‘ओलीले सुरुमा संसद् विघटन गर्दा ठाकुर–महतोजीले प्रतिगामी भनेर आन्दोलन गर्नुभयो । ओलीले दोस्रो पटक संसद विघटन गर्दा उहाँहरूले ‘यू’ टर्न गर्नुभयो । ठाकुर–महतोहरू प्रतिगमनको मतियार बन्न कसरी पुगे ? आश्चर्य भएको छ ।’


‘ओलीले पहिलो पटक संसद विघटन गर्दा प्रतिगन भनेर उहाँहरू सँगै आन्दोलनमा हुनुहुन्थ्यो । ‘दोस्रो पटक संसद विघटन गर्दा उहाँहरू समर्थन गरेर सरकारमा सहभागी हुनुभयो ।’अध्यक्ष यादवले भने, ‘महन्थ र राजेन्द्रहरूमा विचारहीन, दिशाहीन, अडान नभएका, नीति छैन, सिद्धान्त छैन । उनीहरू राजनीतिक विचारमा अडिएको भए प्रतिगमनविरुद्ध उभिएकाहरू ओलीको मतियार हुने थिएनन् ।’

उनले जसपा नेपाल एकढिक्का रहेको बताएका छन् । ‘रुखका पातहरू झर्छन् । २–४ वटा पात झरेर रुख सकिदैन । जसपा नेपाल झन् सुदृढीकरण भएको छ । हामी बलियो हुन्छौँ ।’

जसपाका अध्यक्ष यादवले राजा महेन्द्रले २०१७ सालमा परिवर्तनलाई उल्टाएर जसरी केपी ओलीले संसद् दुई पटक विघटन गरेर महेन्द्र पथमा गएको आरोप लगाए । उनले ओलीको षड्यन्त्रलाई असफल बनाएको बताएका छन् । यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा रहेको भन्दै जसपाले अब नेतृत्वदायी भूमिका खेल्ने बताए ।

भदौ १ र २ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यसमितिले ७ प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । जसपाले पार्टी सुदृढीकरणलाई मंसिरसम्म चल्नेछ ।

कार्यक्रममा जसपाबाट निर्वाचित स्थानीय तहका पदाधिकारी, प्रदेशभित्रका केन्द्रीय सदस्य, कन्द्रीय पदाधिकारी, प्रदेश सांसद, केन्द्रीय परिषद लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ नेता अशोक राई, नेता महिन्द्र राय यादव, नेतृ रेणु यादव, नेता रमेश यादव, प्रदेश २ का अर्थमन्त्री विजय यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x