दल

ओलीले गोप्य सहमति पालना गरेनन्

ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्‍यौँ : माधव नेपाल

इकागज |
भदौ १३, २०७८ आइतबार १२:५४ बजे

काठमाडौं - नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ । एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो । सो बैठकले दलको नेतादेखि प्रमुख सचेतकसहित पदाधिकारी चयन गर्नेछ । अहिले बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन् । 

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरूले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । पहिलोपटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताए । 


पार्टीभित्र पक्षपात गर्ने ओलीले बैठकहरुमा बोल्नसमेत नदिएको नेपालको भनाइ छ । पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने ओलीले संसद विघटन गरेर पार्टी एकतालाई भाँडेको अध्यक्ष नेपालको आरोप छ । 

नेपालले एमाले अध्यक्ष ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप लगाएका छन् । नेपालले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ओली लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको आरोप लगाए । 

दक्षिणपन्थीको इसारामा गुटको राजनीतिक गरेर ओलीले कम्युनिष्ट एकतालाई मात्रै होइन एमालेलाईसमेत जोगाउन नसकेको नेपालको आरोप छ ।  प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्न नहुने र बोल्न नहुने अव्यक्ति दिएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका उनले चुनावी घोषणा पत्रविपरीत ओली अघि बढेको आरोप दोहोर्‍याए । 

प्रधानमन्त्रीको कुर्सी असुरक्षित भएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेको नेता नेपालको आरोप लगाए । नेता नेपालले सरकार र पार्टीमा आफ्नो विकल्प नरहेको भन्ने अहम् ओलीले पालेको बताए । 


Author

थप समाचार
x