दल

सत्ता गठबन्धनको बैठक भोलि

सरकार विस्तार प्रक्रिया सुरु गरिने

इकागज |
भदौ १३, २०७८ आइतवार १३:१५ बजे

फाइल तस्‍बिर

काठमाडौं - शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ४८ दिन बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेका बेला भोलि सोमबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले भोलिका लागि बैठक तय गरेको जानकारी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दिए ।

आजको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपत्यकाबाहिर रहेकाले सामान्य कुराकानी मात्र भएको महामन्त्री खड्काले बताए । आज बिहानको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस महामन्त्री खड्का सहभागी थिए ।


‘उपेन्द्रजी र केसीजी बाहिर भएकाले आजको बैठकमा सामान्य छलफल मात्र भयो,’ खड्काले आइतबार इकागजगँसग भने । सत्ता गठबन्धनको भोलिका लागि तय भएको बैठकमा सरकार विस्तार प्रक्रिया, कोरोना महामारी, बाढी पहिरो समस्यालगायत समसामयिक विषयमा छलफल हुने खड्काले बताए । ‘सरकार विस्तारबारे पनि छलफल हुन्छ, तर यति दिनभित्र सरकारले पूर्णता पाउँछ भन्नेबारे भन्न सकिँदैन,’ खड्काले भने ।

सर्वाेच्च अदालतको परमादेशपछि देउवाले गत असार २९ गते सरकार गठन गरेका थिए । उनले चार मन्त्रीबाहेक अरु नियुक्त गर्न सकेका छैनन् । देउवाले माधव नेपालको दललाई पनि सहभागी गराउने भएपछि एमालेबाट विभाजित एकीकृत समाजवादी पार्टी औपचारिक रुपमा गठन प्रक्रियालाई पर्खेका थिए ।
 


Author

थप समाचार
x