दल

यस्तो छ कांग्रेस महाधिवेशनको ‘महाभारत’

पुष्पराज आचार्य |
भदौ १३, २०७८ आइतबार २०:२९ बजे

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको संघीय विधान अनुसार पहिलो पटक गर्ने महाधिवेशनको गाउँ/नगरका वडा अधिवेशन यसै साता शुक्रबारदेखि शुरु हुने प्रारम्भिक कार्यतालिका छ । नेपाली कांग्रेसले भदौ १८ देखि मंसीर १३ गतेसम्ममा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै सोही कार्यतालिका अनुसार नै अधिवेशन सम्पन्न गर्न वडा अधिवेशनदेखि समयतालिका अनुसरण हुने वा नहुने निश्चित भने छैन । 

झण्डै १० लाख क्रियाशील सदस्य रहेको नेपाली कांग्रेसको अधिवेशन प्रारम्भ गर्न अहिले हरेक जिल्लाको क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिइ सार्वजनिक गर्ने क्रम जारी राखिएको छ । ५५ जिल्लाको सूची तयार भैसकेको र बाँकी जिल्लाको १८ गते अघि नै सार्वजनिक गर्ने तयारी रहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । 


केही जिल्लाको सदस्यता टुंग्याउन बाँकी रहँदा नै महाधिवेशन उद्घाटनको मिति नजिक आइसकेकाले टुंगो लागेका जिल्लाको अधिवेशन गर्ने र बाँकी जिल्लाको वडा अधिवेशन २२ गते गर्ने प्रस्ताव संस्थापन पक्षले राखेको छ । यद्यपि, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै गाउँ/नगर वडाको अधिवेशन एकसाथ गर्नुपर्ने अडान राखेको बुझिएको छ । 

महाधिवेशन सम्पन्न गर्न यथेष्ठ समय छुट्याएर कार्यतालिका बनाइएकाले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न हुनेमा कांग्रेसजन आशावादी छन् । तर संघीय विधानमा पहिलोपटक हुन लागेको महाधिवेशनमा ७ तहमा हुनेछ । 

पार्टीको संघीय विधान अनुसार समयमा महाधिवेशन गर्न वर्तमान नेतृत्वले कार्यकाल एक वर्ष छँदै तयारी प्रारम्भ गर्नुपर्नेमा उल्टो एक वर्ष ढिलो प्रक्रिया प्रारम्भ गरेको र त्यसमा पनि असामान्य परिस्थिति देखाएर ६ महिना सार्दा पनि क्रियाशील सदस्यता छानबिनमा लामो समय व्यतीत भएकाले संवैधानिक व्यवस्था अनुसार पनि नेपाली कांग्रेस अवैध हुने जोखिम बढेको थियो ।  २०७२ फागुनमा १३औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसको महाधिवेशन अहिले तोकिएको समयतालिकामा सम्पन्न गर्दा झण्डै ६ वर्षको अवधि हुनेछ । 

कांग्रेसको यो महाधिवेशन सात तहमा हुने हुनाले त्यसैपनि यो आफैंमा महाभारत छ । क्रियाशील सदस्यले छानेका क्षेत्रीय (गाउँ/नगर वडा)बाट छानिने प्रतिनिधिहरूले जिल्ला, क्षेत्र, प्रदेश र केन्द्रीय प्रतिनिधि छान्ने महासमिति सदस्य समेत निर्वाचित गर्ने भएकाले क्रियाशील सदस्यता टुंग्याउन ठूलो रस्साकस्सी चलेको हो । 

यसबाहेक  विधानको व्यवस्था अन्यथा हुँदाहुँदै पनि जिल्ला सभापतिहरूसँग शीर्ष नेतृत्वले अर्कै खालको भद्र सहमति बनेको पनि सुन्नमा आएको छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति चयन हुन महासमिति सदस्य हुनैपर्ने अनिवार्य व्यवस्था छ । तर एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा सभापति बन्न क्षेत्रीय प्रतिनिधिमात्र भएपुग्छ, महासमिति सदस्य बनिरहन आवश्यक छैन ।  जिल्ला सभापतिकै उम्मेद्वारको हकमा फरक–फरक व्यवस्था रहेको भनेर जिल्ला सभापतिहरूले शीर्ष नेताहरूसँग आपत्ति जनाएका थिए । त्यसमा शीर्ष नेताहरू एउटै मापदण्ड लागू गर्ने सहमत गरेपनि विधानको व्यस्थाभन्दा बाहिर जान सक्ने अवस्था छैन । 

नेपाली कांग्रेसको महाधिवेशनमा गाउँ/नगर वडास्तरमा १५० क्रियाशील सदस्य भएको ठाउँमा ३ जना महिला, ६ जना खुला, ६ जना आरक्षण गरी १५ जना र वडा अध्यक्ष क्षेत्रीय प्रतिनिधि बन्छन् । क्रियाशील सदस्यको संख्या १५० माथि थप सय भएमा २ महिला सहित ६ जना प्रतिनिधि थपिदैं जान्छन् । गाउँ/नगर समितिको नेतृत्वमा आउन वडा (क्षेत्रीय) प्रतिनिधिमा निर्वाचित भएको हुनैपर्छ, अन्य पदमा भने क्रियाशील सदस्यले उम्मेदवारी दिन सक्छन् । वडा प्रतिनिधिले पालिका, प्रदेश र जिल्ला अधिवेशनका लागि मतदान गर्छन् । केन्द्रीय पदाधिकारी चयन गर्ने महाधिवेशन प्रतिनिधि पनि यिनैले छान्छन् । 

संघीय सांसद र संघीय सांसदको निर्वाचन लडेका सबै, प्रदेश सभा सांसद र प्रदेश सभाको निर्वाचन लडेका सबै, राष्ट्रिय सभा सांसद र राष्ट्रिय सभाको निर्वाचन लडेका सबै स्वतः क्षेत्रीय प्रतिनिधि हुन्छन् । तर उनीहरूले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन चाहेमा वडाको निर्वाचनमा भाग लिन सक्छन् । 

वडा र नगर/गाउँसभापछि तेश्रो तहमा प्रदेशको निर्वाचन क्षेत्रको अधिवेशन हुन्छ । प्रदेश सभाको एक निर्वाचन क्षेत्रमा १६ जना प्रतिनिधि छानिन्छन् र यसमा प्रदेशको क्षेत्रका सभापति स्वतः प्रदेश अधिवेशनका लागि प्रतिनिधि छानिन्छन् । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनका लागि लागि प्रतिनिधिका रूपमा प्रदेश क्षेत्रभरीका वडा सभापति र गाउँ तथा नगर सभापति पदेन प्रतिनिधिका रूपमा आउँछन् । 

चौथो चरणमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन हुन्छ जसमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति चयन हुन्छ । यसमा दुई वा दुईभन्दा दुई भन्दा बढी निर्वाचन क्षेत्र भएमा क्षेत्रीय कार्यसमिति बनाउनुपर्छ । अन्यथा एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला कार्यसमिति र निर्वाचन क्षेत्र कार्यसमिति एकै हुन्छ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिको उम्मेद्वार बन्न केन्द्रीय महाधिवेशन प्रतिनिधि बनिरहन आवश्यक छैन तर दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको सभापति बन्न केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनैपर्छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय समिति चयनका लागि मतदान गर्न पाउँछ । 
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रतिनिधिसभाका हरेक निर्वाचन क्षेत्रबाट २५ जना छानिन्छन् । १६५ निर्वाचन क्षेत्रमध्ये प्रत्येकबाट २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्छन् । जिल्ला सभापति र प्रदेश क्षेत्रीय सभापति हरेक निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधिमा स्वतः समावेश हुने व्यवस्था छ । 

केन्द्रीय कार्यसमितिका सबैजना, संघीय सांसद र संघीय सांसदको निर्वाचन लडेका सबै, प्रदेश सभा सांसद र प्रदेश सभाको निर्वाचन लडेका सबै, राष्ट्रिय सभा सांसद र राष्ट्रिय सभाको निर्वाचन लडेका सबै स्वतः क्षेत्रीय प्रतिनिधि हुन्छन् । तर उनीहरूले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन चाहेमा वडाको निर्वाचनमा भाग लिन सक्छन् । 

पाँचौ चरण अर्थात् एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० मा तय गरिएको छ । जिल्ला समितिमा सभापतिको उम्मेदवार हुन एकभन्दा बढी निर्वाचन क्षेत्र भए केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन अनिवार्य छ । एक निर्वाचन क्षेत्र र बहु निर्वाचन क्षेत्रको सभापतिको उम्मेद्वारका लागि विभेद नगर्ने भनिएपनि विधानको व्यवस्थाले बहु निर्वाचन क्षेत्र भएको जिल्ला सभापतिको उम्मेद्वार बन्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएकै हुनुपर्छ । यसमा क्षेत्रीय प्रतिनिधि, वडा सभापति, गाउँ/नगर सभापति मतदाता हुन्छन् । 

नेपाली कांग्रेसको महाधिवेशनको छैटौं चरणमा सात प्रदेशको अधिवेशन राखिएको छ । कात्तिक १०, ११ र १२ मा तय भएको प्रदेश अधिवेशनका लागि प्रदेशका एक निर्वाचन क्षेत्रबाट १६ जना, उक्त प्रदेशका केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश समिति गठनका लागि मतदान गर्छन् । एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा दुई प्रदेश सभा निर्वाचन क्षेत्रका ३२ र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा छानिने २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश भित्रका हरेक निर्वाचन क्षेत्रबाट सहभागी बन्छन् । 

प्रदेशको अधिवेशन सम्पन्न भएपछि अन्तिम चरणमा मंसीरको ९ देखि १३ सम्म प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट छानिएका २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि १६५ ओटै निर्वाचन क्षेत्रबाट केन्द्रीय समिति छनौटका लागि जम्मा हुनेछन् । केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्न सक्ने व्यवस्था छ । अतिरिक्त शुभेच्छुक संस्था, जनसम्पर्क समिति र भ्रातृ संगठनले तोकिएको कोटामा आधारित रही केन्द्रीय महाधिवेशन प्रतिनिधि पठाउन सक्छन् ।


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x