दल

अबको १० वर्ष विकास र प्रगतितिर अगाडि बढ्नुपर्छ : अर्थमन्त्री शर्मा

इकागज |
भदौ १६, २०७८ बुधबार ११:५८ बजे

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित ज्ञानकुञ्ज एजुकेसन फाउण्डेसन प्रालिको भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताए । उनले युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे ।


अबको एक दशक नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरूलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए । उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए।

‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, श्रोत, जनशक्ति छ । नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा देशलाई विकास गर्न सक्यौँ भने यो एउटा अवसर हो,' उनले भने, 'यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौँ भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्ध हुँदै बुढाहरूको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ । त्यसकारण अबको १० वर्ष नेपालको लागि महत्वपूर्ण घडी छ । यही अवधिमा हामीले धेरै समस्या, चुनौतीहरूलाई पन्छाउँदै विकास, प्रगतितिर अगाडि बढ्नुपर्नेछ।'

अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले  युवाहरू निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए । अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने कुरा सोचेर अघि बढ्नुपर्ने उनले बताए । मन्त्री शर्माले ज्ञानकुञ्ज एजुकेसन फाउण्डेसनले सक्षम नागरिक बनाउन विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गरिब जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरेकोमा धन्यावादसमेत ज्ञापन गरे । 


Author

थप समाचार
x