दल

सदस्य तान्‍ने होडबाजी

एमालेमा थपिने ५५ केन्द्रीय सदस्य माधव खेमाकै ! छान्‍ने जिम्मा रावल र पाण्डेलाई

इकागज |
भदौ १७, २०७८ बिहिवार ९:२५ बजे

काठमाडौं - नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ । २ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फमा सनाखत गरेपछि एमालेमा हाल ती पद रिक्त छ । रिक्त पदपूर्ति गर्दा तत्कालीन नेपाल खेमाको विचार समूहमा रहेका तर हाल एमालेतर्फ खुलेका नेताहरूमध्येबाटै चयन गरिने एमालेले जनाएको छ । 

रिक्त ५५ जना केन्द्रीय सदस्यको सिफारिस भने नेपाल समूह छोडेर अन्तिम समयमा एमालेमा समाहित भएका १० स्थायी कमिटी सदस्यले गर्नेछन् । ५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी भने उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन् । एमाले अध्यक्ष केपी ओलीले विगतमा नेपाल समूहमा आवद्ध भएका तर हाल एमालेतर्फ खुलेका मध्येबाटै रिक्त पदपूर्ति गर्ने भन्दै रावल र पाण्डेलाई सदस्य सिफारिसको जिम्मा दिएका हुन् । 


एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमति अनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशन अघि नै लगाइने तयारी छ । उनका अनुसार विधान अधिवेशन अघि पार्टी छाडेका ५५ जना र मनोनयनमा पर्ने २० जना गरी ७५ जनालाई विधान अधिवेशन अगावै केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ । ‘साथीहरू कसलाई केन्द्रमा लैजाने भन्ने विषयमा छलफलमा हुनुहुन्छ चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउँछ,’ तामाङले भने । 

सदस्य तान्ने होडबाजी 

एमाले विभाजन भएसँगै दुबै पार्टीका नेताहरू एकले अर्को पार्टीका नेता तानेर केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एस)ले पनि चाँडै केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै सम्भव भएसम्म एमालेमा आवद्ध नेताहरूलाई तानेर केन्द्रीय सदस्य बनाउने प्रयास थालेको छ । 

एमालेले पनि केन्द्रीय सदस्य नभएका तर पार्टीभित्र राम्रो प्रभाव राख्ने तर हाल नेकपा (एस) मा खुलेका नेताहरूलाई केन्द्रीय सदस्यको अफर गरिरहेको छ । नेकपा (एस)का नेता बेदुराम भुसाल केन्द्रीय कमिटीले राष्ट्रिय भेलाबाट पूर्णता पाउने बताउँदै अधिकांश एमालेका नेताहरू भेलाबाट आफ्नो पार्टीमा समाहित हुने दाबी गर्छन् । ‘एमालेका धेरै साथीहरू हामीसँग आउँदै हुनुहुन्छ, उहाँहरू केन्द्रीय कमिटीमा अटाउने ‘हेभीवेट’का हुनुहुन्छ,’ भुसालले भने । 


Author

थप समाचार
x