दल

विवाद बढेपछि कांग्रेस निर्वाचन समिति संयोजक यादवले दिए पदबाट राजीनामा

इकागज |
भदौ २४, २०७८ बिहिवार २१:१५ बजे

काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेव यादवले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार उनले डडेलधुरामा देखिएको पार्टी क्रियाशील सदस्यता विवाद र अन्य जिल्लामा पनि नेताहरूपिच्छे फरक–फरक धारणा आएको भन्दै राजीनामा दिएको स्रोतले जनायो । 

‘उहाँले राजीनामा दिनुभएको छ,’ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले भन्यो, ‘उहाँलाई महाधिवेशन सम्पन्न गर्न के गर्नुपर्छ हामीले गर्छौ । राजीनामा नदिनुस् भनेका छौं ।’


संयोजक पूर्वमहान्यायाधिवक्ता यादवले यसबारे आफूले भोलि धारणा सार्वजनिक गर्ने अहिले मिडियामा नबोल्ने बताए । तपाईले कांग्रेसको निर्वाचन समिति संयोजकबाट राजीनामा दिनुभएको हो भन्ने इकागजको प्रश्नमा संयोजक यादवले भने, ‘यसबारेमा मैले मिडियामा भोलि बोल्छु । अहिले केही बोल्दिन । आफै बुझ्नुस् ।’

डडेलधुरामा जिल्ला सभापतिको सहमति बिना वडा अधिवेशन गराएको भन्दै विवाद भइरहेको थियो । आज डडेलधुरामा केन्द्रीय प्रतिनिधि तोकिएका लोकेन्द्रबहादुर बमले वडा अधिवेशन शिक्षक संघको सहयोगमा भव्यताका साथ भइरहेको भन्दै विज्ञप्ति निकालेका थिए । तर, जिल्ला सभापति कर्णमल्ल समूहले जिल्लामा भइरहेको वडा अधिवेशन बहिस्कार गर्ने बताइरहेको छ । 

सभापति देउवाको गृह जिल्ला डडेलधुरामा कार्यकर्ताको सहभागिताविना अधिवेशन हुन लागेको भन्दै सभापतिमा उम्मेद्वारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि र नेता डा. शेखर कोइरालाले लिखित रूपमा विरोध जनाइसकेका छन् । 

कांग्रेसको २१ जिल्लामा अझै सदस्यता फाइनल हुन सकेको छैन । 
 


Author

थप समाचार
x