दल

सत्ता गठबन्धन बैठक

देउवाले मागे मन्त्री बन्‍नेको नाम, एमसीसीबारे छलफल नै भएन

इकागज |
भदौ २५, २०७८ शुक्रबार ११:१८ बजे

काठमाडौँ- सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । शुक्रबार बिहान प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक एक घण्‍टा बसेर सकिएको हो । बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो।

बैठकमा मुख्यत: तीन वटा विषयमा छलफल भएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । उनकाअनुसार बैठकमा मन्‍त्रिपरिषद् विस्तार, अध्यादेशहरू संसद्‍मा टेबुल गर्ने र गठबन्धनलाई बलियो बनाएर लैजानेबारे छलफल भएको हो । नेताहरूले चाँडै ने मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई छिटो पूर्णता दिने भन्दै मन्त्रीहरूको नाम दिन सरकारमा सहभागी हुने दलहरूसँग माग गरेका छन् ।


‘आजको बैठकमा मुख्यतः तीन वटा विषयमा छलफल भयो,’ उनले इकागजसँग भनिन्, ‘मन्त्रिपरिषद् विस्तार, विभिन्‍न अध्यादेशहरू संसद्‍मा प्रस्तुत गर्ने र गठबन्धनलाई थप बलियो बनाएर लैजाने विषयमा नेताहरूबीच सहमति भएको छ । चाँडै नै सरकारलाई पूर्णता दिनेबारे नेताहरू सहमत हुनुहुन्छ । प्रधानमन्त्रीज्यूले सरकारमा सहभागी हुने दललाई मन्त्री बन्‍ने व्यक्तिको सूची दिनु भन्‍नुभयो ।’ 

उनकाअनुसार माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारसँगको भेटबारे पनि जानकारी गराएका थिए । एमसीसी उपाध्यक्ष फतिमा समुारले प्रधानमन्त्रीसँग् भेटेपछि यसबारे थप छलफल हुने बताइन् ।


Author

थप समाचार
x