दल

कांग्रेसको १४ औँ महाधिवेशन

देउवा-निधि टकरावको चेपुवामा यादव

निर्वाचन समिति संयोजकको राजीनामा अस्वीकृतको अन्तर्कथा

इकागज |
भदौ २७, २०७८ आइतबार ९:२४ बजे

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ गठित निर्वाचन समितिका संयोजक महादेव यादवले बिहीबार पदबाट राजीनामा दिए । संयोजक यादवले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई राजीनामा बुझाएका थिए । 

उनको त्यो राजीनामा अर्को दिन शुक्रबार नै अस्वीकृत भयो । बिहीबार राजीनामा बुझ्ने मुख्य सचिव पौडेलले सभापति देउवाले यादवको राजीनामा अस्वीकृत भएको सूचना जारी गरे । 


यादवले राजीनामा के कारणले दिए र अर्को दिन किन फिर्ता लिए भन्ने अहिले चर्चा र चासोको विषय बनेको छ । मुख्य सचिव पौडेलद्वारा राजीनामा अस्वीकृत भएको सूचना आउन नपाउँदै यादवले १४ औं महाधिवेशनको कार्यतालिकाको आन्तरिक मिति फेरबदलको सूचना प्रकाशित गरे ।

त्यसपछि के कारणले राजीनामा दिए, किन फिर्ता लिएर काम सुरु गरिहाले भन्ने विषयमा कांग्रेस नेता कार्यकर्ता नै अनविज्ञ भए । 

निकटस्थ स्रोतका अनुसार संयोजक यादव सभापति देउवा र उपसभापति विमलेन्द्र निधिबीचको टकरावको चेपुवामा परेर राजीनामा बुझाउन बाध्य भए । राजीनामा बुझाएपछिको प्रे;र थेग्न नसकेर फिर्ता लिए । 

१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले निधिलाई उपसभापतिमा मनोनयन गरेका थिए । अहिले पनि निधि त्यही मनोनित उपसभापति पदमै आशीन छन् । तर १४औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने घोषणा गर्दै नयाँ वानेश्वरमा सम्पर्क कार्यालय पनि खोलिसकेका छन् । सभापति देउवाले पनि पार्टी विधान अनुरुप पुनः सभापतिमा दोहर्‍याउने तयारी गरेका छन् । 

यही अवस्थामा गत १८ गतेबाट १४औं महाधिवेशन अन्तर्गत तल्लो तह वडा अधिवेशन भइरहेको छ । वडा अधिवेशनका क्रममा देउवाको गृह जिल्ला डडेलधुरामा विवाद भयो ।

निधिले विवादबीच वडा अधिवेशन नगराउन निर्वाचन समिति संयोजक यादवलाई दबाब दिए । निकटस्थ नेताहरूका अनुसार निधिले यादवलाई पटक–पटक टेलिफोन गरेर ‘डडेलधुरामा सभापतिबाट अन्य नेता कार्यकर्तामाथि अत्याचार भएको छ, यस्तो अवस्थामा वडा अधिवेशन नगर्नुस्, रोक्नुस्,’ भन्दै दबाब दिएका थिए । 

आफू पनि मधेसको निधि पनि मधेसको अझ त्यसमाथि प्रदेश पनि एउटै । निधिको तारन्तारको प्रेसर थेग्न यादवलाई गाह्रो भयो । सभापतिको गृह जिल्लामा सभापतिको सहमतिविना अधिवेशन रोक्ने आँट पनि गर्न सकेनन् । ‘उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा विवादबीच वडा अधिवेशन नगर भनेर तारन्तार दबाब दिए,’ कांग्रेसका एक नेता भन्छन्, ‘सभापतिको गृह जिल्ला भएकाले सभापतिको सहमतिबिन रोक्ने आँट संयोजक यादवमा भएन, प्रेसर थेग्न पनि सक्नुभएन र आफै राजीनामा दिनुभयो ।’

यादवलाई राम्रोसँग चिनेका नेताहरू भन्छन्, यादवले निधि र देउवाबीचको टकराव नभएको भए पेलेर अघि बढ्थे । यादव कांग्रेसमा नेता रामचन्द्र पौडेल र कोइराला परिवार विरोधी अधिवक्ताका रूपमा चिनिन्छन् । देउवाको गृह जिल्ला डडेलधुरामा पेलेर अधिवेशन गर्न थालिएपछि सभापतिको उम्मेद्वारी घोषणा गरेका निधि र नेता डा. शेखर कोइरालाले विरोध गरेर विज्ञप्ति नै निकालेका थिए । 

तर राजीनामापछिको दबाब थेग्न नसकेर अर्को दिन फिर्ता लिन बाध्य भएको नेताहरू बताउँछन् । यादवलाई देउवाले आफू प्रधानमन्त्री भएको बेलामा महान्यायाधिवक्ता समेत बनाएका थिए । 

यतिसम्मकी यादवले आफूले राजीनामा दिएपछि निर्वाचन समितिका सदस्य रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई टेलिफोन गरेर कार्यवाहक प्रमुख भएर १४ औं महाधिवेशन सम्पन्न गर्न सुझाएका थिए । यादवले भनेका थिए, ‘तपाई ‘सिनियर एड्भोकेट’ हो । कांग्रेस निर्वाचन समितिमा तपाईं सिनियर पनि हो । पार्टीका तीन महाधिवेशन गराइसक्नु भयो । तपाईले कार्यवाहक भएर महाधिवेशन गर्नुस् ।’

आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको कांग्रेसका अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन सकिएको छ । भएकामध्य ५६ जिल्लामा सहमति र प्रक्रिया अनुरुप नै भए पनि सभापति देउवाको गृहजिल्ला डडेलधुरामा चरम विवादबीच सम्पन्न भएको छ । त्यहाँ जिल्ला सभापति कर्ण मल्ल समूहले वडा अधिवेशन बहिस्कार नै गरेको छ । 

बाँकी २० जिल्लाको नामावली पार्टीले निर्वाचन समितिलाई बुझाएको छैन । सोमबारसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्यताको नामावली बुझाउने र पाँच असोजमा वडा अधिवेशन गर्न बाँकी वडाको अधिवेशन गर्ने संशोधित कार्यतालिका निर्वाचन समितिले जारी गरेको छ । 


Author

थप समाचार
x