दल

देउवाले दमन गरेको भन्दै पौडेल पक्षकाे विरोध

इकागज |
भदौ २८, २०७८ सोमबार १८:३५ बजे

काठमाडौँ– नेपाली कांग्रेसमा संस्थापनइतर भनेर चिनिने वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टी सभापति शेरबहादुर देउवाले डडेलधुरा लगायतका जिल्लामा आफू पक्षधरको सहभागितामा जबर्दस्ती पेलेर वडा अधिवेशनको कार्यक्रम अघि बढाएको भन्दै विरोध गरेको छ । देउवाको गृह जिल्ला डडेलधुरामा जिल्ला सभापति लगायतले क्रियाशील सदस्यको सूची मनपरी ढङ्गले तोडमोड गरिएको भन्दै विरोध गर्दै आएका थिए । उनीहरूको विरोधका बाबजूद डडेलधुरा लगायत अन्य जिल्लामा नयाँ थपिएका क्रियाशील सदस्यका आधारमा गणपूरक संख्या पुर्‍याएर अधिवेशन गरी क्षेत्रीय प्रतिनिधि चुनिएका थिए । 

त्यस्तै, कतिपय जिल्लामा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशनमा समस्या भएपछि नेपाली कांग्रेसले गाउँ-नगर अधिवेशनको यसअघिको समयतालिका परिवर्तन गरेको छ । क्रियाशील सदस्यता वितरणदेखि नै असन्तुष्ट रहँदै आएको पौडेल समूहले देउवाले वैधानिक रूपमा पार्टी कब्जा गर्नेगरी समय घर्काएर संवैधानिक रूपमा पार्टीले वैधानिकता गुमाउने स्थितिमा ल्याएर पेलेर अधिवेशन सम्पन्न गराउन खोजेको आरोप लगाएका छन् । 


पौडेल समूहले देशव्यापी रूपमा नै एकसाथ महाधिवेशन शुरु हुनुपर्नेमा २० जिल्लाको क्रियाशील सदस्यको सूची अझै टुंगो नलगाएको, चरम अराजकता र मनपरीतन्त्र चलाएको आरोप संस्थापन पक्षमाथि लगाएको छ ।

‘पार्टीको जीवन्त तत्व नै क्रियाशील सदस्य रहेकाले न्यायसंगत र निष्पक्ष ढङ्गले कांग्रेसजनलाई क्रियाशील सदस्यता दिनुपर्नेमा अन्य दलबाट पार्टी प्रवेशको नाममा संस्थापनले आफूलाई फाइदा हुनेगरी क्रियाशील सदस्यको सूची बनाएको’ वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

‘पार्टीको स्थापित विधि र पद्धति विरुद्ध खुल्ला हस्तक्षेपले अधिवेशनको दौरानमा लज्जाजनक स्थिति पैदा भएको छ,’ पौडेल समूहले भनेको छ, ‘नेपाली कांग्रेसको विधानको धारा ४ अनुसार क्रियाशील सदस्यताको प्रारम्भ नै वडा समितिबाट प्रस्ताविक भई आउने व्यवस्था छ । विवाद नभए सोही अनुसार गर्ने र विवाद भए सहमतिमा क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने हो ।’

पौडेल समूहले सहमतिमा पनि क्रियाशील सदस्यताको टुंगो नलागे १३औं महाधिवेशनका क्रियाशील सदस्यको आधारमा अधिवेशन हुने पार्टीको केन्द्रीय समितिको निर्णहरू अनुसार विवादमा परेको नामावलीमा विधि र प्रक्रिया पु¥याएर १५औं महाधिवेशनमा दिने भनी गरिएको निर्णय विपरित वडा अधिवेशन शुरु भएको उल्लेख गरेको छ । 

‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयलाई समेत लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएको छ, यसप्रति हाम्रो गम्भीर असहमति छ,’ पौडेल समूहले भनेको छ । पौडेल पक्षले लोकतान्त्रिक ढङ्गले विधिसम्मत तवरले महाधिवेशन गराउन समेत सभापति देउवासँग आग्रह गरेको छ । 


Author

थप समाचार
x