दल

चार वर्षपछि खुल्ला मञ्‍चमा चन्द : झरी परिरह्‍यो, उनी गर्जिरहे

विनोद देवकोटा |
भदौ २९, २०७८ मगलवार १३:५४ बजे

काठमाडौँ – २०७४ कात्तिक ८ गते नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द खुलामञ्चमा देखिएका थिए । सन्दर्भ थियो, अक्टोबर क्रान्तिको शतवार्षिकी । यही अवसरमा चन्द नेतृत्वको नेकपाले राजधानीमा ‘विशाल आमसभा’ गरेको थियो । त्यसपछि उनी सार्वजनिक सभामा देखिएनन् ।

त्यसको करिब चार वर्षपछि उनी त्यही मञ्चमा उक्लिए । मञ्चको अवस्थिति र कार्यक्रमको उद्देश्य फरक थियो, अरु प्रायः सबै उस्तै । जोश, आक्रोश अनि गर्जन् पनि उस्तै । सन्दर्भ र विषयबस्तु फरक भए पनि चन्दको निशानामा उनै थिए जुन करिब चार वर्षअघि थिए, ‘अमेरिकी विस्तारवाद र भारतीय साम्राज्यवाद’ । कार्यक्रम थियो अमेरिकी ‘राष्ट्रघाती’ एमसीसीविरुद्धको विरोध सभा । चार वर्षअघि सेतो सर्ट र खैरो पाइन्टमा मन्चमा देखिएका चन्द सोमबार (२०७८ भदौ २८) पनि उस्तै पहिरनमै देखिए । 


भरखरै खाली गरिएको खुला मन्चको हिलाम्य चौरमा थिए नेता-कार्यकर्ता र केही सर्वसाधारण । उनी बोल्न 'पोडियम' नपुग्दै झरीले 'स्वागत गर्‍यो' । चन्द भने झरीमा रुझ्दै जंगिए । छाता ओढाउन खोज्दा अस्वीकार गरे । ‘देशको भविष्यमाथि कालो बादल मडारिरहेको बेला, देशमाथि विभिन्न सिकन्जा कसिन थालेको बेला, देशमा साम्राज्यवादीहरूको नंग्रा गाढिरहेको बेलामा हामी लड्न तयार भएर हिँडेका मान्छेहरू हौं । यो झरी र पानी केही पनि होइन । यसलाई हामी सजिलै पचाइदिन्छौँ,’ नेता-कार्यकर्तालाई उनले ढाडस दिए, ‘पानी होइन हामी सबैभन्दा ठूलो आपत् विपतसँग लडेर आएका मान्छे हौं ।’

अनि उनले सम्झिए चार वर्षअघि त्यही मन्चमा चढ्दा गरेको प्रतिबद्धता ।  ‘चार वर्षअगाडि यही खुला मन्चमा उद्घोष गरेका थियौँ, यहाँहरूलाई याद होला,’ उनी ‘फ्यासब्याक’मा गए, ‘हामी सच्चा जनवादी र देशभक्त, हाम्रो मुटुमा हाम्रो देश र आँखामा सपना छ । त्यसका लागि हामी जुनसुकै मूल्य चुकाउन सक्छौँ । नेपाली जनताको अधिकार र आकांक्षा कतैबाट छिन्न खोजिन्छ भने, स्वाभाविमानलाई छिन्न खोजिन्छ भने, दलाल सत्ता र संसदीय सत्ताकोविरुद्धमा लड्न तयार छौँ । जुनसुकै मुल्य चुकाउन तयार छौं, हामीले भनेको थियौँ । जनताको मागअनुसार लड्यौँ । आज यहाँ आएका छौँ ।’

विषयबस्तुमा प्रवेश गर्नअघि उनले दुई वर्षे प्रतिबन्ध स्मरण गरे । सरकारले गरेको दमन सम्झिए । १२ जनाले ज्यानको आहुती दिएको पनि स्मरण गरे । अनि सम्झिए सरकारसँग भएको तीन बुँदे सहमति र हिरासतमा रहेका बन्दी नेता कार्यकर्ता । ‘भ्रष्टाचारीविरुद्ध लड्नुभन्दा सरकारले हामीमाथि दमन गर्‍यो । हामी मुल्य चुकाउन तयार छौँ । हामीले उद्घोष गरेको थियौँ । हामी त्यसै यहाँ आएका होइनौंँ, १२ जना कमरेडको रगत मिसाएर आमी आएका छौं । २५ सय बन्दी, ३ हजार बढी मुद्दा र पाँच हजारको परिवार विच्छेद भएर आएका छौँ । हामी आफ्नो कुराप्रति प्रतिबद्ध छौं । बन्दुक र तरबारहरू जनताको अगाडि केही पनि होइन’ झरी परिह्यो, उनी गर्जिरहे, ‘राज्यले प्रतिबन्ध लगाएर दुई महिनामै सिध्याइदिन्छौ भनेकै हो । तर हामीले दुई महिना होइन, दुई वर्षमा शासक गिर्छन् भनेका थियौँ । आज परिणाम के भयो ? हामीसँग आधुनिक बन्दुक छैन । ठूला ठूला बम बारुद छैन । मान्छेले सोध्छन्, बन्दुक खै ? अहिले बन्दुकको कुरा नगर्नुस् । हामीसँग जनता छन् । तिनको ताकत बन्दुक, बम र गोलीभन्दा बलियो हुन्छ ।’

सहमतिअनुसार बन्दी नेता कार्यकर्ता सरकारले रिहा गर्नुपर्ने बताएका उनले हिरासतमा रहेका नेता कार्यकर्तालाई फेरि ढाडस दिए, ‘जेलनेल, मुद्दा र बलिदान एउटा सुन्दर देशको भविष्य आँखामा सजाएर हिँडेका नेताका लागि साधारण कुरा हो । बस्‍नुपर्छ । जेल क्रान्तिकारीहरू बस्नकै लागि बनाएको हो । देशमा दलालहरू रहेसम्म जेलमा क्रान्तिकारीलाई थुनिन्छन् । हामीले तीन बुँदे सहमति कार्यान्वयन गर्‍यौँ । हामी पालना गर्न तयार छौंँ । राज्यले पनि गरोस् । आजसम्म राज्यले सुनेको छैन । भ्रम र कुप्रचार भइरहेका छन् । इमान्दारपूर्वक छोड्नुपर्छ । कुनै सर्त मान्य छैन । तर, घेराबन्दी र दाँया बाँया गर्नुभयो भने त्यो सम्भव छैन ।’

त्यसपछि बल्ल उनी विषयबस्तुमा प्रवेश गरे । उनले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताविरुद्ध रहेको भन्दै लागू गर्न नदिने चेतावनी दिए । अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दबाब दिएको उनको दाबी थियोे । एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बाल्ने चेतावनी उनले दिए ।

‘एमसीसी जबरजस्ती लाँध्न खोजिदैछ  । हामीले प्रतिबन्धदेखिनै एमसीसीविरुद्ध लडेका हौं,’ उनले भने, ‘कुनै पनि हालतमा एमसीसी लागू हुन दिँदैनौं । प्रतिबन्ध हटेछ भने तपाइहरूसँग खुला सडकमा, हटेन भने एमसीसी पास गर्ने मान्छको जीवनलाई ख्याल गर्नुपर्छ हामीले भनेका थियौँ । हामी जुनसुकै मुल्य चुकाउन तयार छौं । लड्न तयार छौँ । मुटुमा रगत भएको मान्छे लड्नुपर्छ । कायरहरू मात्रै हो मालिकसँग झुक्ने । तपाइ जहाँ हुनुहुन्छ त्यहीबाट लड्नुस् । हामी जनताबाबीचबाट लड्छौँ । धुलो पिठो पार्दिन्छौँ भनेर लड्यौँ ।’ 

एमसीसीम रहेका कतिपय प्रावधानबारे उनले प्रष्ट्याए, ‘एमसीसी परियोजनाको सुरक्षा गर्न अमेरिकी सेना आउनुपर्ने ? उनले प्रश्न गरे, ‘के नेपालमा सेना, प्रहरी छैन ? के प्रहरी जनतालाई दमन गर्न मात्रै हो ? अदालत हाम्रा मुद्दा हेर्न मात्रै हो । प्रहरी प्रसाशन छैन ?’

पैसाले मात्रै विकास नहुने भन्दै चन्दले एमसीसीले देश विकास हुन्छ भन्नु मुर्खता भएको बताए । उनले एमसीसीका विषयमा मान्छेलाई भाँड्ने प्रयास भइरहेको समेत जिकिर गरे । ‘पैसाले के सबै हुन्छ ? के अमेरिकाले दिएको पचास हजार डलरले नेपालको कायापलट हुन्छ ?’ उनले प्रश्न गरे, ‘के पैसाले समृद्धि रोकिएको हो ? पैसाले मात्रै हुन्छ ? हामीले किन राणा शासन फालेको, किन पन्चायत फालेको, किन जनयुद्ध लडेको ? पैसाले पुग्छ ? मान्छेलाई स्वतन्त्रता चाहिन्छ । विकास र समृद्धिको बाधक पैसा होइन सत्ता हो । पैसाबाट मात्रै समृद्धि आउँछ भन्ने दलाहरूको चेतना हो । कमिसनखोरहरूको चेतना हो ।’ 

जबरजस्ती एमसीसी पास गर्न खोजे सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए । सोमबारको विरोध सभा एउटा झिल्को मात्रै भएको भन्दै जबरजस्ती गर्न खोजिए राँको बाल्ने उनको चेतावनी थियो । ‘अब पास भए के गर्ने ? आइहाले के गर्ने ?’ प्रश्न गर्दै जवाफ पनि आफैले दिए, ‘आज त हामीले संकेत मात्रै ग¥यौँ । यो सानो झिल्को मात्रै हो । आज सानो झिल्को बोकेर निस्केका छौं । यदि जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ । हामी लड्नुपर्छ । हामी जुनसुकै मुल्य चुकाउन तयार छौं ।’ उनले एमसीसीविरुद्ध लड्न यसको विपक्षमा रहेका सबैलाई पार्टी र समूह नभनेर एक ठाउँमा आउन आह्वान गरे । त्यसको नेतृत्व लिन आफू तयार रहेको समेत प्रतिबद्धता जनाए ।

एमसीसीबारे कुरा सकिनेवित्तिकै उनले दार्चुला घटना सम्झिए । भारतीय साम्राज्यवाद र वर्तमान सत्ता र व्यवस्थाको विकल्पबारे प्रश्न उठाए । वेथिति र विसंगतिमाथि प्रहार गरे । ‘दलाल सत्ता रहेसम्म जनताको हित हुँदैन । वैज्ञानिक समाजवाद हुनुपर्छ । हामी आवश्यक पर्दा लडेर पनि अगाडि बढ्छौँ । यदि राज्यले हाम्रो कुरा सुन्छ भने, इमान्दार बन्छ भने, जनभवना सम्बोधन गर्छ भने शान्तिपूर्ण रूपमा प्रतिष्पर्धा गर्न पनि तयार छौँ ,’ उनले भने, ‘जनमत संग्रह गरौं न त । जनमतमा जाऔं न त । हामीलाई विश्वास छ जनताले यो दलाल व्यवस्था रोज्ने छैनन् । किसान, मजदूर महिलाले यो व्यवस्था चुन्ने छैनन् । तर, व्यवस्था चलाउन पनि नसक्ने, उत्पीडन, लुट, आतंक जे सुकै भए पनि भोग्नुपर्ने ? यो भयो भने के हुन्छ ?’

कार्यक्रमको सुरुवातमै बोलेका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हालसम्म भएका सन्धि सम्झौता खारेजीको नेतृत्व आफूहरूले लिने बताए । नेपालबाटै संसदीय व्यवस्था हटाउनुपर्ने भन्दै त्यसका लागि जनमत संग्रह गर्नुपर्ने उनले बताए । ‘हालसम्म भएका सन्धि सम्झौता खारेज गर्न नेकपाले नेतृत्व गर्छ,’ उनले भने, ‘सिंहदरबारमा बसेर संसदीय दलहरू आगामी संसदीय चुनावको दिन गन्दै होलान् । खबरदार !, एउटा अनुहार परिवर्तन गर्दै अर्को अनुहार ल्याउने चुनाव होइन जनमत संग्रह हुनुपर्छ । त्यसका लागि नेकपाले सञ्चालन गर्ने एकीकृत जनक्रान्तिकारमा सहभागी बनौँ । 

चन्दलाई पृथ्वीनारायण शाहको तस्बिर ‘उपहार’
चन्द नेतृत्वको नेकपाले आयोजना गरेको कार्यक्रममा संसदइतरका अन्य दल र समूहको पनि सहभागिता थियो । अधिकांश माओवादी धारका दलका नेताहरू रहेको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका कर्णजित बुढाथोकी, ‘नेपालका लागि नेपाली’ अभियानको नेतृत्व गरिरहेका वरिष्ठ नेता अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायतले सम्बोधन गरेका थिए । सम्बोधनपछि डा. भण्डारीले नेत्रविक्रम चन्दलाई पृथ्वी नारायण शाहको तस्बिर उपहार दिए ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x