दल

संविधानको संरक्षण र सुधार गर्ने जिम्मेवारी नयाँ पुस्ताकोः पूर्व राष्ट्रपति यादव

इकागज |
असोज ६, २०७८ बुधवार १३:५८ बजे

काठमाडौँ - स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स’ले प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग भर्चुअल अन्तरक्रिया गरेको छ। संविधान दिवसको अवसरमा पूर्व राष्ट्रपति यादवसँग मङ्गलबार साँझ ‘संविधानले देखाएको बाटो’विषयय अन्तरक्रिया गरेको हो । भर्चुअल अन्तरक्रियामा पूर्व राष्‍ट्रपति यादवले संविधानको संरक्षण र यसमा सामयिक सुधार गर्ने जिम्मेवारी नयाँ पुस्ताको भएको बताए ।

अन्तरक्रियामा उनले २०६२/६३ को आन्दोलनलाई नेपाली जनताले आत्मसाथ गरेको पनि बताए। ‘नेपाली जनताले यो संविधान बचोस् भन्ने कुरा चाहेका छन्,’ अन्तरक्रियामा यादवले भने । पूर्व राष्ट्रपतिले कार्यक्रममा हालका दलहरूको भूमिका प्रति चिन्ता समेत व्यक्त गरेका थिए ।


‘अघिल्लो सरकार संविधानको साङ्घातिक हत्याको प्रयास गरे। सरकार मात्र होइन, राष्ट्रपतिको पनि संलग्नतामा उक्त घटना भएको देखियो। तर, अदालतले संविधान बचायो,’ उनले भने । पूर्व राष्ट्रपतिले संविधान बनाउन नेतृत्व लिने दलहरुबाटनै संविधान मिचिएकोमा आक्रोश व्यक्त गरे ।

करिब डेढ सय वैकल्पिक राजनीतिमा सक्रिय युवाहरूसँग प्रत्यक्ष संवाद गर्दै पूर्व राष्ट्रपतिले अब नयाँ पुस्ताले यो संविधानको स्वामित्व लिनुपर्ने बताए। करिब एक दर्जन युवाहरूले पूर्व राष्ट्रपतिलाई सिधै प्रश्न सोधेका थिए। 

अन्तरक्रियामा वैकल्पिक राजनीतिका अभियन्ता रमेश पौड्यालले पनि प्रश्न गरे, ‘ केहि व्यक्तिहरूले नागरिकका अधिकारहरू हासिल हुने आन्दोलनहरू विदेशीले गराइदिएको वा यो आयातित अजेण्डा हो, नेपाली माटो सुहाउँदो एजेण्डा होइन र नेपाली जनताले माग गरेको पनि होइन भन्ने भाष्य निर्माण गर्न खोज्दै छन्। ती विदेशी शक्ति कति सहायक हुन्, कति निर्णायक हुन् ?’ जवाफमा पूर्व राष्ट्रपतिले उत्तर थियो, ‘हाम्रो देशमा लोकतान्त्रिक संस्थाहरू बलियो नभएकाले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको छ। जब रक्षक नै भक्षक हुन्छन्, त्यो बेलामा यस्ता शक्तिहरूले दिने तर्क हो यो। युवाहरूले आत्मविश्वास राखेर सकारात्मक सोचेर अघि बढ्नुपर्छ। लोकतन्त्रलाई बलियो बनाउनुपर्छ।’


Author

थप समाचार
x