दल

महासमिति सदस्यदेखि पूर्वमन्त्रीसम्म वडामै पराजित

कांग्रेस १४औं महाधिवेशन: प्रदेश १ का दुई उपमहानगरमा संस्थापनलाई धक्का

विराटनगरको अधिवेशन असोज १६ मा

इकागज |
असोज १०, २०७८ आइतबार ९:५७ बजे

विराटनगर - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार पराजित भएका छन् । इटहरीमा हेमकर्ण पौडेल र धरानमा श्याम पोखरेल निर्वाचित भएका हुन् । पौडेल र पोखरेल दुवै संस्थापन इतर पौडेल समूहबाट निर्वाचित भएका हुन् ।

आइतबार बिहान सम्पन्न मत गणनाअनुसार इटहरी नगर सभापतिमा पौडेल दोस्रो पटक निर्वाचित भएका छन् । उनले विकास केसीलाई ४२ मतले पराजित गरेका हुन् । निर्वाचनमा ४८२ मतदाताले मतदान गरेका थिए । पौडेलले २५३ मत प्राप्त गरेका हुन् । यसअघि १३ औं महाधिवेशनका क्रममा पनि केसी पौडेलसँगै पराजित भएका थिए । केसी कांग्रेस संस्थापन देउवा प्यानलबाट चुनाव लडेका थिए ।


इटहरी नगर समितिको दुई उपसभापति कोविद कार्की र बालकृष्ण बिष्ट पौडेल समूहबाटै विजयी भएका छन् । नगर सचिवमा केसी प्यानलका मन्दिप भट्टराई र हेमकर्ण प्यानलका विक्रम घिमिरे निर्वाचित भए । त्यस्तै सहसचिवमा पौडेल प्यानलका इश्वर तामाङ र विकास प्यानलका मेनुका गिरी निर्वाचित भएका छन् । इटहरी नगर समितिका ३१ पदका लागि ६७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रदेश १ को दोस्रो उपमहानगर धरानको नगर सभापतिमा एन्फाका बरिष्ठ केन्द्रीय उपाध्यक्षसमेत रहेका देउवा पक्षका उम्मेद्धवार किशोर राईलाई हराउँदै श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भएको निर्वाचनमा राई र पोखरेल प्यानलै उम्मेदवारी दिएर मैदानमा उत्रिएका थिए । अन्तिम मत परिणाममा पौडेल समूहका पोखरेलले ३९ मतले किशोर राईलाई पराजित गरेका छन् । पोखरेलले २६२ र राईले २२३ मत प्राप्त गरेका छन् । 

उपसभापतिमा नरेन्द्र कुमार राई (प्रवीण) ले २९० र सन्तोष लिम्बुले २२३ मत ल्याएर विजयी भएका छन् । राई प्यानलका महेन्द्र तामाङले १८३ र राजकुमार थोप्राले २१८ मत प्राप्त गरे । नगर सचिवमा पोखरेल प्यानलकै उम्मेदवार जितेन्द्र राईले २५९ र हिमाल श्रेष्ठले २९६ मत ल्याएका छन् । राई प्यानलकी रुक्मणि गौतम (कोपिला) ले १९५ र सुमन श्रेष्ठले १७१ मत प्राप्त गरे ।

  इटहरी र धरान उपमहानगरपालिकाको नगर सभापतिमा निर्वाचित बायाँबाट क्रमस: हेमकर्ण पौडेल र श्याम पोखरेल ।

सहसचिवमा युनेश रानाले ३०२ र शिला बज्राचार्यले २७१ मत प्राप्त गर्दा पराजित बनेका राई प्यानलकी कमला रुचालले १७४ र गोपाल कार्कीले १८१ मत प्राप्त गरेको जनाइएको छ । २० वटा वडा रहेको धरानमा पोखरेल र राई वडा नम्बर १२ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । उनीहरुबीच वडामै एक अर्कालाई रोक्ने गरी प्यानल प्रतिष्पर्धा भइसकेको थियो । 

विराटनगरको नगर अधिवेशन असोज १६ मा 
प्रदेश १ को एकमात्रै महानगरपालिका विराटनगरको नगर अधिवेशन असोज १६ गते शनिबार तोकिएको छ । नेपाली कांग्रेस मोरङको शुक्रबारको बैठकले विराटनगरसहित १७ वटै पालिकाको नगर अधिवेशन शनिबार गर्ने निर्णय गरेको हो । निर्वाचन तालिकासहितको निर्णय केन्द्रीय समितिलाई पठाइएको छ । 

प्रस्तावित निर्वाचन तालिकाअनुसार उम्मेदवारहरूलाई १५ गते शुक्रबार मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी फिर्ताका सम्पूर्ण प्रक्रिया पूरा सकेर शुक्रबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने र शनिबार मतदान हुने नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले बताए ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको तालिका अनुसार नगर अधिवेशन असोज ९ शनिबारका लागि तोकिएपनि विराटनगर महानगरपालिकाका वडा नम्बर २, ३, ४, ६ र ८ सहितका वडाको वडा अधिवेशनको मत गणना कार्य शनिबार बेलुकामात्रै सकिएका कारण नगर अधिवेशन एक साता पछि सारिएको हो ।

विराटनगरका १९ वटा वडाहरुमा सम्पन्न वडा अधिवेशनअन्तर्गत वडा नम्बर १ को वडा सभापतिमा छवि पराजुली निर्वाचित भएका छन् । वडा नं. २ मा ज्ञानेश्वर नेपाल, वडा नं ३ मा शत्रुघन पौडेल, वडा नं. ४ मा राजकुमार तवदार निर्वाचित भएका छन् । त्यसैगरी वडा नं. ५ मा प्रभाकरमानसिंह कार्की, वडा नं. ६ मा रामकुमार ढकाल, ७ मा सभापतिमा अशोक विष्ट, ८ बाट श्रीजन आचार्य वडा सभापति बनेका छन् । 

वडा नं ९ मा अनुजा कोइराला निर्वाचित भएकी छन् । कोइराला वडासभापतिमा सर्वसम्मत निर्वाचित एक्ली महिला सभापति हुन् । वडा नं १० मा अर्जुन कार्की, वडा नं. ११ मा रामसुन्दर राजवंशी, वडा नं १२ मा हरिनारायण यादव, १३ मा तारानाथ तिम्सिना, १४ मा प्रदिपकुमार यादव, १५ मा प्रकाश साह सुडी, १६ मा उद्धव कुमार भुजेल, १७ मा महमद् एहसान आलम, १८ मा वसन्तप्रताप राजवंशी र वडा नं १९ मा शेषराज राजवंशी निर्वाचित भएका छन् । 

चिनिएका नेता वडामै पराजित

विराटनगरको वडा अधिवेशनमा केही चिनिएका नेताहरू वडामै पराजित भएका छन् । पराजित हुनेमा महासमिति सदस्यदेखि पुर्वमन्त्रीसम्म छन् । पूर्वमन्त्री शिव बस्नेत क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । उनी विराटनगर–४ बाट लडेका थिए । महासमिति सदस्य सुदनबहादुर कार्की वडा नं. २ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भए । विराटनगर–१ बाट क्षेत्रीय प्रतिनिधि लडेका नेपाल शिक्षक संघ मोरङका सभापति शिवराज कोइराला पनि पराजित भएका छन् । 

बाराको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीयबाट राजिनामा दिएर नेपाली कांग्रेसको राजनीतिमा होमिन लागेका लागेका गोपाल रेग्मी विराटनगर–५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नरद्वय लीलाकुमार ढुंगेल र राजन खत्री पनि क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगर ३ बाट सवैभन्दा धेरै मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी उपमेयर इन्दिर कार्की विराटनगर २ बाट निर्वाचित भइन् । 

प्रस्ताव र समर्थकमा अनिवार्य क्षेत्रीय प्रतिनिधि
केन्द्रीय निर्वाचन समितिबाट खटिएका मोरङका निर्वाचन अधिकृत केदार कार्कीले महानगर/नगर सभापति पदका लागि प्रस्तावक र समर्थक अनिवार्य रूपमा क्षेत्रीय प्रतिनिधि रहनुपर्ने जानकारी दिए । सभापति बाहेकका अन्य पदमा भने क्रियाशील सदस्य समेत प्रस्तावक र समर्थक बस्न पाउने उनले बताए । 

विराटनगर महानगर सभापतिका मुख्य चार आकांक्षीहरू क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका छन् । महानगर सभापतिका दाबेदार दीपक चापागाँईं र अरुण न्यौपाने विराटनगर २ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । त्यसैगरी नगर सभापतिका अर्का दाबेदार सन्तोष न्यौपाने वडा नम्बर ५ र कृष्ण कार्की वडा नम्बर ३ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।


Author

थप समाचार
x